राजविराजमा कृषि विश्वविद्यालय

प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिनुभयो । विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिनुभयो ।

यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।

फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग

राजविराज नगरका युवाले लामो समयदेखि अस्तव्यस्त रहेको नगरको सडक अबस्था, फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग गरेका छन् । नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले फोहरले नगरको सौन्दर्य नै हराएको जनाउँदै तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख यादवले नगर सुन्दर बनाउने अभियानमा नगरपालिका सधै साथमा रहेको बताउनुभयो । पछिल्लो समय नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । नगरपालिका करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ तर अझैसम्म कार्यान्वयन नहुँदा नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...