प्युटारमा हाट बजारका लागि ट्रस्ट निर्माण

ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारमा हाट बजार सञ्चालनका लागि ट्रस्ट निर्माण गरिएको छ । स्थानीयस्तरमा उत्पादित फलफूल, तरकारी र अन्य बाली खरिद बिक्री गर्न सहजताका लागि उक्त १० कोठा ट्रस्ट बनाइएको हो ।

स्थानीय उत्पादन सङ्कलन गरी बिक्री गरिने वडाध्यक्ष नारायणबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले स्थानीयवासीको आर्थिक अवस्थामा सुधार ल्याउन ट्रस्ट निर्माण गरेका हौँ । दशैँअघि सातामा एक दिन बजार सञ्चालन गर्नेबारे छलफल गरिरहेका छाँै ।” सो बजारमा स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी, लत्ताकपडालगायत राखिने घलेले जानकारी दिनुभयो ।

उक्त बजारमा किनमेलका लागि ललितपुरबाहेक मकवानपुरवासीसमेत आउने स्थानीय दिपक घिमिरेले बताउनुभयो । वाग्मतीको झण्डै २५ प्रतिशत खेतीयोग्य जमीनमा तरकारी र फलफूल उत्पादन गर्ने योजना बनाएको छ । हाट बजार सञ्चालनमा आए स्थानीय किसानलाई उत्पादन बिक्री वितरणका लागि सहज हुने कृषि विकास शाखाका प्रमुख सुवास खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तरकारी भण्डारणका लागि तीन ठाउँमा सङ्कलन केन्द्र र पाँच हजार किलो क्षमताको शीतभण्डारको निर्माणको योजना छ ।” वाग्मतीले यही भदौ ४ गतेदेखि सोही वडामा तरकारी सङ्कलन गरेर मङ्गलबार र शनिबार बल्खुको तरकारी बजारमा बिक्री गराउनुका साथै भदौ ११ गतेदेखि गाउँपालिकामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वाग्मतीले चालू आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा भूगोल र हावापानी सुहाउँदो खेती गरी स्थानीयवासीलाई आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको थियो ।

वाग्मतीले ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि : वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात गर्दै सो वडामा कृषि हाट बजार सञ्चालन गर्न लागेको हो । गाउँपालिकाले कृषिलाई थप आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरी उत्पादकत्व तथा उत्पादन वृद्धि गर्नाका साथै बजार व्यवस्थापन, बाँझो जमिन उपयोग र जनशक्ति व्यवस्थापन जस्ता कार्य सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...