स्टील उद्योगमाथि अर्थमन्त्रीको भेदभाव, गुणस्तरीय उत्पादनलाई निरुत्साहित गर्ने कर नीति

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिएर व्यापार घाटा कम गर्ने भन्दै आएका अर्थमन्त्री जनार्दन शर्माको एउटा निर्णयले १०० अर्ब लगानीको स्टील उद्योग समस्यामा परेको छ । प्रतिस्थापन विधेयकमार्फत शर्माले ल्याएको संसोधित बजेटमा अन्तशुल्क र कर वृद्धि गरिएपछि देशका २४ वटा स्टील उद्योगहरु धराशयी बन्नसक्ने उद्योगीहरुले बताएका छन् ।

नेपालमा हाल ३० वटा स्टील उद्योग सञ्चालनमा रहेकोमा तीमध्ये ६ वटालाई मात्रै फाइदा पुग्ने गरी अर्थमन्त्रीले निर्णय लिएको उद्योगीहरुको भनाइ छ । निर्णय फिर्ता नभए २४ वटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उनीहरु बताउँछन् ।

संसोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको छ । तर, विलेट आयात गर्दा भन्सार ४.७५ रुपैयाँ र प्रति मेट्रिकटन १ हजार ६५० बाट अन्तशुल्क वृद्धि गरी २ हजार ५ सय पुर्‍याइएको छ । सरकारले स्पञ्ज आइरल आयातमा छुट दिएर विलेट आयातमा अन्तशुल्क वृद्धि गरेकाले स्टीलको मूल्य वृद्धि हुन गई उद्योग नै बन्द गर्नपर्ने अवस्था आउने उद्योगीहरुले बताएका छन् ।

स्पञ्ज आइरन र विलेट दुबै कच्चा पदार्थ हुन् । स्टील उद्योगले छडलगायत फलामका बस्तु उत्पादन गर्न स्पञ्ज आइरन र विलेट आयात गर्ने गरेका छन् । नेपालमा ६ वटा उद्योगले मात्रै स्पञ्ज आइरन प्रयोग गर्छन् भने अन्यले विलेट प्रयोग गर्छन् ।

स्पञ्ज आइरन ल्याएर स्टील निर्माण गर्दा कर र अन्तशुल्क नलाग्ने हुँदा मूल्य सस्तो हुनेछ । यता, अन्तशुल्क र करको कारण विलेट आयात गरेर छड लगायतका बस्तु उत्पादन गर्दा लागत महंगो हुने छ । यसले बजारमा प्रतिस्पर्धा गर्न नसकिने अवस्था सिर्जना भई उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने उद्योगीहरुले बताएका छन् ।

सरकारले स्टील उत्पादन गर्न चाहिने कच्चा पदार्थको कर र अन्तशुल्क र बराबरी राख्नु पर्ने उद्योगीहरुले माग गरेका छन् । रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साःखले सरकारले ६ वटा उद्योगलाई मात्रै कर र अन्तशुल्क छुट दिएर बाँकी २४ वटा उद्योग बन्द गराउन खोजेको बताए ।

उनले भने, ‘स्पञ्ज आइरनबाट निर्माण भएकोभन्दा विलेटबाट बनेको छड राम्रो र गुणस्तरीय हुन्छ । तर सरकारले विलेट आयात गरेर स्टील उत्पादन गर्ने उद्योगहरुलाई समस्यामा पारिदिएको छ ।’

प्रिमियर स्टील प्रालिका सञ्चालक शिव रतन सारडले सरकारले निजी क्षेत्रको भावनाअनुसार काम गर्न नसकेको बताए । स्टील उद्योगहरु बन्द भएमा बैंकहरुको पनि ठूलो लगानी संकटमा पर्ने उनको भनाइ छ ।

सारडले भने, ‘यस उद्योगमा बैंकहरुले २४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । उद्योग बन्द भए बैंकहरुको लगानी पनि डुब्ने अवस्था आउँछ ।

चीनमा स्पञ्ज आइरनबाट सञ्चालन हुने उद्योग सरकारले नै बन्द गराइसकेको छ । भारतमा पनि कडा निगरानीका साथ केही उद्योग मात्रै सञ्चालन गर्न दिइएको नेपाली उद्योगीहरु बताउँछन् । स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्दा जोखिम धेरै हुने र वातावरणमा पनि धेरै असर गर्ने उनीहरुको दावी छ । ठूला र राष्ट्रिय गौरवको आयोजनामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ५०० डी ग्रेडको स्टील आवश्यक पर्छ, जुन विलेटबाट बनाइन्छ ।

पछिल्लो समय नेपालमा पनि स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने उद्योगमा दुर्घटना वृद्धि भएको छ । ६ वटा उद्योगमध्ये ३ वटा उद्योगमा दुर्घटना भइसकेको उद्योगीहरुले बताएका छन् ।

सिद्धी लक्ष्मी स्टील प्रालीका सञ्चालक अञ्जन श्रेष्ठले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने भने पनि निजी क्षेत्रलाई नकारात्मक असर पुग्ने किसिमको नीति ल्याएको बताए ।

श्रेष्ठले भने, ‘एउटै आर्थिक वर्षमा दुई पटक फरक-फरक नीति ल्याउनु ठीक होइन । नीति परिर्वतन गर्दा निजी क्षेत्रसँग पनि छलफल गर्नुपर्थ्याे ।’

२०७२ सालको भूकम्पपछि नेपालमा स्टील उद्योगको स्थापना गर्ने क्रम बढेको हाे । तर, यो उद्योगमा समस्याहरु धेरै छन्। बजारमा स्टील उद्योगको २० अर्ब पैसा उठ्न बाँकी रहेको उद्योगी बताउँछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...