लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ विजयी

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २५ औँ वार्षीक साधारण सभा तथा १३ औं महाधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न मतदानको मतगणना सम्पन्न भएको छ ।

सोमबार राति अबेर गरि आएको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष मतमा विनोद श्रेष्ठ विजयी भएका छन । उनले प्रतिष्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि पार्दै वरिष्ठ उपाध्यक्ष पदमा जित हासिल गरेका हुन् । उनले कुल ८ सय १ मत प्राप्त गरेका थिए भने अधिकारीले ७ सय ४३ मत प्राप्त गरे । भावी अध्यक्षका रुपमा समेत हेरिने उक्त पदमा यस अघिका प्रथम उपाध्यक्ष श्रेष्ठ र सल्लाहकार अधिकारी चुनावी मैदानमा उत्रेका थिए ।

 

यस्तै प्रथम उपाध्यक्ष पदमा राजेन्द्र ओझा विजयी भएका छन् । उनले प्रकाशलाल श्रेष्ठ लाई १ सय ५२ मतले पछाडि पारेका हुन । ओझाले कुल ८ सय ५७ मत ल्याउँदा श्रेष्ठले ४ सय ७९ मत ल्याएका छन् । उक्त पदमा यस अघिका द्वितीय उपाध्यक्ष ओझा र पूर्व द्वितीय उपाध्यक्ष श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए ।

 

संघको द्वितीय उपाध्यक्ष पदमा गोपिचन्द्र बाँस्तोला विजयी भएका छन् । उनले शैलेन्द्रमोहन भट्टराईलाई १ सय ४७ मतले हराएका हुन । बाँस्तोलाले कुल ८ सय ५३ मत ल्याउँदा भट्टराईले ७ सय ६ मत प्राप्त गरेका थिए । बाँस्तोला यस अघिका महासचिव हुन् भने भट्टराई कार्यसमिति सदस्य हुन् ।

 

उपेन्द्रराज सुवेदी (राजु) ले ४ सय ६९ को फराकिलो मतान्तरले मेनुका श्रेष्ठलाई पराजित गर्दै महासचिव पदमा विजयी भएका छन । सुवेदीले अहिलेसम्मकै सर्वाधिक १ हजार १९ मत ल्याउन सफल भएका छन् भने श्रेष्ठले जम्मा ५ सय ५० मत प्राप्त गरिन् । सुवेदी यसअघि संघका उप–महासचिव पदमा रहेका थिए भने श्रेष्ठ कार्यसमिति सदस्य हुन् ।

लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक पदाधिकारी बनेर ऐतीहासिक काम गरेकी जानुका अधिकारी प्रत्यासी धिरजकुमार श्रेष्ठलाई पराजीत गर्दै उप–महासचिव पदमा निर्वाचित भएकी छन् । उनले श्रेष्ठलाई ३ सयकोे मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । अधिकारीले ९ सय ३३ मत प्राप्त गर्दा श्रेष्ठले ६ सय ३३ मत प्राप्त गरेका थिए ।

 

यस्तै भरतराज ओझाले प्रतिष्पर्धी रामजी पौडेललाई ९५ मतले पराजित गर्दै कोषाध्यक्ष पदमा विजयी भएका छन् । उनले ७ सय ५७ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले ६ सय ६२ मत ल्याएका थिए । चुनावको २ दिन अगाडि उम्मेदवारी फिर्ता लिएर पौडेललाई सर्मथन गरेका भिमबहादुर नेपाली (काइँला) ले १ सय २८ मत प्राप्त गरे । अन्तिम अवस्थामा उम्मेद्वारी फिर्ता लिँदा यसको प्रत्यक्ष फाइदा ओझालाई पुग्न गएको छ ।

 

यता सदस्य खुल्लातर्फ उम्मेद्वारी दिएका २० जनालाई पछि पार्दै ८ जनाले जित हासिल गरेका छन । विजयी हुनेहरुमा विक्रम कर्माचार्य, बुद्धिप्रसाद बाँस्तोला, ध्रुवबाबु भटृराई, इन्दिरा रोका, जिवन तिवारी, भरत थापा, पुष्पमणि भण्डारी र हरि बस्ताकोटी रहेका छन् ।सदस्यमध्येबाट विक्रम कर्माचार्यले ९ सय ५८ मत ल्याएका छन् भने बुद्धिप्रसाद बाँस्तोलाले ८ सय ९२, ध्रुवबाबु भट्टराईले ८ सय २४, ईन्दिरा रोकाले ७ सय ९४, जिवन तिवारीले ७ सय २१, पुष्पमणि भण्डारीले ६ सय ७५, भरत थापाले ६ सय ७१ र हरि बस्ताकोटीले ६ सय २९ मत ल्याउन सफल भएका हुन् ।

 

यस्तै महिला सदस्यमा उम्मेदवारी दिएका ५ जना मध्येबाट २ जना विजयी भएका छन् । विजयी हुनेहरुमा गंगाकुमारी मल्लले ८ सय ९५ मत प्राप्त गरेकी छन् भने रञ्जना बरालले ७ सय ९१ मत प्राप्त गरेकी छन् ।संघको १३ औं महाधिवेशनमा यस अघि नै अध्यक्ष पदमा वर्तमान छत्रधर आत्रेय, संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसिएट सदस्यमा मेघराज पौडेल निर्विरोध निर्वाचित भइसकेका थिए । विजयी उम्मेद्वारहरुलाई सोमबार राति नै विजयीको प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...