नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

गत जेठ महिनायता पटकपटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि उच्च जोखिममा परेका हुन् ।

बस्ती नै जोखिममा परेपछि आफन्तको घरमा आश्रय लिन बाध्य भएको पीडित दिनेश केसीले बताउनुभयो । मसार बस्ती नै उच्च जोखिममा परेपछि घर छाड्न बाध्य भएको उहाँले दुखेसो पोख्नुभयो । यस्तै स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासी टेकबहादुर फगामीले बताउनुभयो ।

गत जेठ ३१, असार १, साउन २३ र भदौ ७ गते भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको छ । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।

वर्षात्का कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भइरहेको जानकारी दिनुभयो ।

बेनी–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकामा स्थानान्तरण गरिएको छ । प्रभावित बस्तीमा तत्काल नगरपालिकाले प्रतिपरिवार रु १५ हजार, जिल्लास्थित नेपाली कांग्रेस र एमालेलगायत विभिन्न सङ्घसंस्थाले राहत उपलब्ध गराएको वडाध्यक्ष पौडेलले बताउनुभयो । बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडाध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने योजना रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...