कृष्णनगरमा झाडा पखालाको प्रकोप, दुईजनाको मृत्यु

कपिलवस्तु, १९ असोज,कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोपबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर-९ बहादुरगन्जका ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेका स्थानीय मनिष गुप्ताले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा रातिदेखि प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन् ।

वडामा प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको छ । शिवराज अस्पतालमा ४० जना बिरामी भर्ना भएका अस्पतालका चिकित्सक डा. मुकेश चौधरीले बताए ।

समुदायमा कति बिरामी छन् भन्ने तथ्याङ्क हालसम्म आउन सकेको छैन । समुदायमा रहेका निजी क्लिनिक र स्वास्थ्य चौकीमा समेत बिरामीकाे चाप छ । नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए ।

प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...