‘सुनको महल’ सार्वजनिक

जुना थापा १९ असोज, पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले गरेका हुन् । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दीपेन्द्र बुढा ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए ।

आफ्नो जीवनमा मात्र नभइ यो गीत अन्यको जीवनसँग पनि मेल खाने बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्को भाग पनि आउने बताउँदै गीत संगीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे । नायिका केकी अधिकारीले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै कलाकार ठकुरीलाई आफ्नो सपनाको गोरेटोमा हिँड्नु भएको र यसलाई निरन्तरता दिएर गीत संगीतको क्षेत्रमा योगदान दिन आग्रह गरिन् ।

 

कार्यक्रममा अधिकारी स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट जोडिएकी थिइन् । निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनौट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । थापाले डिएमबिएस फिल्मस्सँग मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको र आगामी दिनमा नेपाली चलचित्र बनाउने योजना रहेको समेत बताए । सो अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले म्युजिक भिडियोको सफलताको शुभकामना व्यक्त गरे । डिएमबिएस फिल्मस् प्रोडक्सनको निर्माण ओएसआर डिजिटलको प्रस्तुति रहेको सो म्युजिक भिडियोको सार्वजनिकीकरण कार्यक्रमको संयोजन गण्डकी भ्वाइस डट कमले गरेको थियो । कार्यक्रममा गण्डकी भ्वाइस डट कमका प्रबन्ध निर्देैशक सुरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...