घान्द्रुकमा जिप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्य र एसपी थापा घटनास्थल जादै

पर्यटकीय गाउँ घान्द्रुकमा  जीप दुर्घटना हुँदा जीप चालक खुशीमान क्षेत्रीसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । भर्खर प्राप्त जानकारी अनुसार पोखरास्थित हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो ।

जीपमा चालक सहित १० जना यात्रु सवार थिए । ती मध्ये एक जना जीवितै उद्धार गरिएको स्थानीयले बताएका छन् । उनी भीरमा अड्किएको अवस्थामा भेटिएका थिए । उनको अवस्था सामान्य रहेको छ ।अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ ।

घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल मोदी खोलामा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । कलाभीरमा निकै अप्ठेरो बाटो छ । मृतकको सनाखत हुन सकेको छैन । यद्यपि दशैंको छुट्टिमा पदयात्रामा हिंडेकाहरु दुर्घटनामा परेको हुन् । उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएका थिए।

अहिले उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ । घटनास्थल पुगेको प्रहरीले लाशको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याउने तयारी गरेको छ । मृतकको शव क्षतविक्षत भई चिन्नै नसकिने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

घटना बारे जानकारी लिन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायाण आचार्य र कास्कीका एसपी रमेश थापा पोखराबाट घटनास्थल तर्फ जादै हुनुहुन्छ । हामी घटना स्थल जादै छौ कास्की कास्कीका एसपी थापाले भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...