पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

पोखरा, असोज २७ गते । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य फणिन्द्रमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको असोज २७ गते बिहान ६ः२० बजे उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा असामयिक निधन भएको हो ।


श्रेष्ठको निधनले पोखराउद्योग वाणिज्य संघ स्तब्ध, मर्माहत एवं शोकाकुल भएको भएको छ । बुधबार शोक विज्ञप्ती जारी गदै श्रेष्ठको निधनबाट मर्माहत भएको जनाएको छ। अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ विज्ञप्तिमा भनिएको छ, दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ सचिवालयमा रहेको झण्डा आधा झुकाएर ससम्मान श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

१९९८ साल भाद्र ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडा ( हाल बेसिसहर नगरपालिका–४) जन्मनु भएका प्रधान २०३३ सालमा संघको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष रहनुभयो । उहाँ २०४७ देखि २०४९ सालसम्म संघको अध्यक्ष रहनु भएको थियो । बेलायती सेनाबाट सेवा निवृत्त भएसँगै उहाँले पोखरालाई कर्मथलो मात्रै बनाउनु भएन, देश–विदेशमा सिकेको सीपलाई राष्ट्र निर्माणमा लगाउने जमर्को गर्नुभयो । औद्योगिकीकरण उहाँको रुचि र शोख थियो । फलस्वरुप उहाँकै अगुवाइमा पोखरामा दक्षिण एसियामै पहिलो पटक गण्डकी नुडल्सको स्थापना गरी ‘रारा चाउचाउ’ उत्पादन सुरु गरिएको थियो ।

यसका गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्याँस कम्पनी, पोखरा म्याकरोनी प्रोडक्ट प्रालि,त्रिशक्ति सोप एण्ड केमिकल कम्पनीमार्फत् निलगिरि साबुन उत्पादन औद्योगिकीकरणप्रति उहाँको लगावकै परिणाम थिए । पछि उहाँले अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरी उहाँले पुन ः चाउचाउ उत्पादन गर्नुभएको थियो । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा उहाँले संघको गरीमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । संघको सचिवालय सुदृढीकरण,औद्योगिक सूचना केन्द्रको स्थापना एवं अन्तर्राष्ट्रिय साझेदारी अभियान पनि उहाँकै कालखण्डमा सुरुवात भएका थिए । पोखरा सभागृह निर्माणताका उहाँ निर्माण समितिको सदस्य,पोखरा ब्लड बैंक निर्माण समितिका संयोजक,सत्य साइ केन्द्र पोखराका अध्यक्ष पनि रहनु भएको थियो ।

 

प्रविधिको प्रयोगमा पनि उहाँ उत्तिकै चासो राख्नुहुन्थ्यो । जीवनको उत्तरार्धमा पनि उहाँको सक्रियता घटेन । जन्मथलो फुस्रेगाउँमा प्रागांंरिक खेति गर्दै आउनु भएका उहाँ गाउँलेका लागि प्रेरणादायी हुनुहुन्थ्यो । पाचनसम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालको ११ दिने बसाइको क्रममा पनि उहाँको रोगमा सुधार आएन बरु पिसाबसम्बन्धी पुरानो रोगले च्याप्न थाल्यो र अन्ततः उहाँले संसार छाड्नुभयो । उहाँको आजै अन्त्येष्टि गरिएको छ ।

अगुवा उद्योगी÷समाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय श्रेष्ठ, पोखराको औद्योगिकीकरणका लागि सदा स्मरणीय रहुनु हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ । स्वर्गीय श्रेष्ठका एक सुपुत्री र एक सुपुत्र एवं ४ जना नातिनी–नातिना रहनु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...