उपराष्ट्रपति पुनद्वारा बडादशैंले आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादशैंले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्।

नेपालीहरुको महान् चाड बडादशैंका अवसरमा देशविदेशमा रहेका हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो,’ सन्देशमा भनिएको छ, ‘हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ। संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ।’

उपराष्ट्रपति पुनले देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन्। बडादशैंको पावन पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उनले विश्वास पनि व्यक्त गरेका छन्।

‘नेपाली जनताको लामो सङ्घर्षबाट देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन्‚’ उपराष्ट्रपतिको सन्देशमा भनिएको छ‚ ‘यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अग्रसर छ।’

उपराष्ट्रपति पुनले यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केही चुनौती सिर्जना भए पनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उल्लेख गरेका छन्। बडादशैंले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको उनले बताएका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...