फणिन्द्रमान औद्योगिकीकरणका पर्याय भएको ठहर

पोखरा, ८ कात्तिक । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्वअध्यक्ष फणिन्द्रमान श्रेष्ठको १३ औं दिनको पुण्यस्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।संघका पूर्वअध्यक्ष तथा पोखराको औद्योगिकीकरणका पर्याय फणिन्द्रमान श्रेष्ठको गएको असोज २७ गते ८० वर्षको उमेरमा निधन भएको थियो ।

२०४७ सालदेखि २०४९ सालसम्म संघको अध्यक्ष रहेका फणिन्द्रमानले नेपालमै पहिलो पटक रारा चाउचाउको उत्पादन थालेका थिए । पूर्वबेलायती सेनासमेत रहेका फणिन्द्रले पोखरामै विदेशीको रोजाइमा रहेको म्याक्रोनी,वेफर बिस्कुटजस्ता नविनतम् उत्पादनमात्रै थालेनन्,छरिएको पूँजीलाई एकीकृत गर्दै सामूहिक रुपले उद्योगमा लगानी गर्ने परम्परा पनि बसाए । रारा चाउचाउ उत्पादन गर्ने गण्डकी नुडल्समा तत्कालीन अवस्थामा करिब ४९ जना सेयर सदस्य जम्मा पारेर उनले सामूहिक लगानीमा जोड दिएका हुन् ।

श्रद्धाञ्जली सभामा बोल्दै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बसन्त उदासले फणिन्द्रमानलाई पोखरामा कर्पोरेट कल्चरको सुरुवात गर्ने व्यक्तिको रुपमा स्मरण गरे । फणिन्द्रमानको जीवनीबारे प्रकाश पार्दै संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठले फणिन्द्रमान उद्योगको पर्यायवाची नाम भएको बताए । उनले कुनैबेला गण्डकी नुडल्स कम्पनी खरिद तथा  कम्पनीबाट म्यागी चाउचाउ उत्पादन गर्ने आकर्षक प्रस्तावलाई अस्वीकार गरेर फणिन्द्रमानले ‘रारा’ब्राण्ड मर्न नदिएको स्मरण गर्दै भने,‘यसमानेमा उहाँ राष्ट्रवादी पनि हुनुहुन्थ्यो ।’

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष नारायण कोइरालाले संघका पूर्वअध्यक्षले पोखराको औद्योगकीकरण एवं निजी क्षेत्रको हितका लागि गरेको योगदान अविस्मरणीय हुने बताए । संघका उपमहासचिव केशवबहादुर खत्रीको संचालन रहेको कार्यक्रममा फणिन्द्रमानको सम्झनामा मौन धारणसहित उनका जीवनको विभिन्न आयामबारे चर्चा गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...