बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए । “बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ”, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भन्नुभयो, “सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।”

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउनुहुन्छ । हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताउनुभयो । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकँुडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उहाँको माग छ । बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...