छन्त्याल घरबासमा आन्तरिक पर्यटक आकर्षित

गलेश्वर, १० मङ्सिर : म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टे (घरबास) को खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् ।

प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खाने, बस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्ने पर्यटकलाई सजिलो भएको छ । अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे सञ्चालन गरिएको हो ।

गुर्जाका छ घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कने छन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फापरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।

छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउँछ ।

लुलाङदेखि जङ्गल र भिरको बाटो आठ घण्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन सिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको १० लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।

पैदल यात्रामात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छन् । ढोरपाटन सिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ । गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचआँैलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ ।

पर्यटक आउन थालेपछि स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाएको स्थानीयवासी प्रेम छन्त्यालले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेपछि उत्साहित बनाएको यशोदा होमस्टेकी सञ्चालिका भीममाया छन्त्यालले बताउनुभयो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट ११ घण्टाको पैदल यात्रापछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...