पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

राजाराम पौडेल÷पोखरा,मंसिर १० गते ।पोखरा थिएटरको आयोजनामा दोस्रो गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार महोत्सव आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिनेछ ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विद्यालयबाट सहभागीता रहने अपेक्षा गरिएको महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताउनुभयो । ‘महोत्सवमा सहभागीताका लागि विभिन्न छनोट चरण पारगर्नुपर्नेछ । पहिलो चरणमा नाटकको कथावस्तु अध्ययन गरिनेछ । त्यसको लागि पौष ३ गतेभित्र नाटकको कथावस्तु पठाइसक्नुपर्नेछ’ उहाँले भन्नुभयो ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालय स्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरिएको थियो ।महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्य रहनेछ ।

कथावस्तुको अध्ययन पश्चात केही सिमित नाटक दोस्रो चरणकोलागि छनोट गरिने आयोजकको भनाई छ । दोस्रो चरणमा छनोट भएका नाटकको रिहर्सल हेरेर निर्णायक मण्डलले अन्तिम चरणको लागि छनोट गर्नेछ । यसरी अन्तिम चरणमा छनोट भएका नाटक गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्से गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ ।महोत्सवमा गण्डकी प्रदेश भित्र माध्यामिक तहसम्म अध्यनरत विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।

 

निणार्यक संयोजक समेत रहनुभएका वरिष्ठ कलाकार प्रकाश घिमिरेले पछिल्लो क्रममा रंगमञ्चतर्फ विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्कषण बढ्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । महोत्सवमा प्राप्त नाटकलाई गहन तरिकाले अध्ययन गरेर अन्तिम चरणको लागि छानिने उहाँले बताउनुभयो । ‘महानगर स्तरिय हुँदा होस् या गत वर्ष प्रदेश स्तरिय आयोजना गर्दा होस् विद्यार्थी तथा अभिभावकको निकै चासो थियो । यसपटक अझै बृहत हुने अपेक्षा छ’ उहाँले भन्नुभयो । रेनेसा थिएटरको प्रस्तुतीमा पोखरामा मञ्चन भइरहको नाटकले दर्शकको माया बटुल्न सफल भएकोमा समेत उहाँले खुशी व्यक्त गर्नुभयो ।

युथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले यो विषम परिस्थितीमा महोत्सवको आयोजना गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहाँले गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवको सफलताको शुभकामना दिँदै अहिले गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक चरणदास चोर टिमको प्रयासको समेत प्रशंसा गर्नुभयो ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन पोखरा थिएटरका सञ्चार साथी राजाराम पौडेलले गर्नुभएको थियो ।

यतिबेला पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक चरणदास चोर मञ्चन भैरहेको छ । रेनेसा थिएटरको प्रस्तुती तथा पोखरा थिएटरको सहकार्यमा मंसिर १ गतेबाट मञ्चन सुरु भएको यस नाटकको मञ्चन मंसिर १४ गतेसम्म निरन्तर हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...