कृषि उद्यमको प्रबर्द्धन र बजारीकरणका लागि मोदीमा प्रदर्शनी मेला

पर्वत, मंसिर ११ गते ।“स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सामाग्री र कृषि उपजले प्रदर्शनीमा स्टल भरीभराउ थिए । दर्शकहरु आफ्नै गाउँघरमा उत्पादित आकर्षित र अनौठा सामाग्रीहरुमा केन्द्रित भएका थिए । उद्योमीहरु किनबिचमै व्यस्त ।

कोहि कोदोको मम खादै थिए त कोहि स्थानीय कला सांस्कृतिकमा रमाउदै थिए । यो दृश्य थियो, पर्वतको मोदि गाउँपालिकाको । मोदि गाउँपालिकाले जिल्लामै नमुना रुपमा स्थानीय लघु उद्यम तथा कृषि उद्यमको विकास, प्रबर्द्धन र बजारीकरण गर्न र स्थानीय उद्योमीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकामा पहिलोपटक प्रदर्शनी मेला आयोजना गरेको छ ।सातौं उद्योग दिवस–२०७८ को अवसरमा वडा नं.२ पातीचौरमा ३ दिने लघु,घरेलु कृषि पशु उद्यम प्रदशनी कार्यक्रम यहीँ मंसिर ९ गते संचालन भै ११ गते सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पालिकाको विकास र समृद्धिका लागि उद्यम क्षेत्रमा देशभरकै स्थानीय सरकारहरुले भन्दा नमुना कार्यक्रम संचालन गरि परिणाममुखी कार्य गरेको बताए ।शिक्षा,स्वास्थ्य, पुर्वधारसँगै कृषि,पर्यटनलाई जोड दिदै स्थानीय स्रोत साधनको प्रयोग गरि उद्यमशिलताका कार्यक्रमहरु संचालन गरेको उनले बताए । तिनै तहका सरकार र कर्मचारीहरुसँग सकारात्मक समन्वय सहकार्य गर्दै जनमुखी कार्यक्रम संचालन गरेको पौडेलले दाबी गरे । उनले भने “ हाम्रो कार्यकाल सकिनै लाग्यो, चुनावताका जनतालाई बोलेका कुरा पूरा गर्दै छौं,हाम्रा गतिविधि बाहिर त्यति प्रचार नभएपनि हामी परिणाममुखी काम गरेका छौँ । “लघु,घरेलु उद्योम कृषि र पशु उद्यमको प्रबर्द्धन र बजारीकरणमा उक्त कार्यक्रमले टेवा पु¥याउने पौडेलको भनाइ थियो ।

 

त्यस्तै कार्यक्रम बोल्दै पालिकाकी उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सेती महतले सबैसँग सहकार्य गर्दै योजनाबद्ध तरिकाले दिगो र प्रभावकारी कार्यमा जोड दिएको बताइन । आफू पनि एक उद्योमी भएको र सबैलाई उद्यममा लग्न प्रोत्साहन गर्दै उद्यमशीलको विकास र प्रबर्द्धनका लागि नमुना र अनुकरणीय कार्य गर्दै आइरहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योमीहरुलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय उत्पादन, कृषि,पर्यटन, कला र सांस्कृतिकको प्रबर्द्धनमा उक्त कार्यक्रमले जोड दिएको उनले बताए । प्रदर्शनीमा १५ वटा स्टलमा पालिका भित्रका ८ वटै वडाहरुमा उत्पादित बस्तुहरुलाई समावेश गरिएको छ । पालिकाभित्रका लघु उद्योगमा उत्पादित अल्लोका सामनहरु,ढाका तथा उनीका होजियारी सामाग्रीहरु,नेपाली हाते कागज,कृषि उपज,सिस्नो पाउडर,लप्सीका परिकार, होम स्टेका परिकारहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रम उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिका वडा १ का वडा अध्यक्ष गौ प्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष बसन्त बहादुर गुरुङ, उद्यम विकास शाखा प्रमुख सीता शर्मा लगायतले बोलेका थिए ।पालिकाले भव्य कार्यक्रमको आयोजना गरि कृषकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शन गर्न पाउदा खुसी भएका छन् । मोदीमा मात्र उत्पादन हुने नेपाली हातेकागज प्रदर्शनीमा दर्शकमाझ देखाउन पाउदा प्रचारप्रसारसँगै यसको प्रबर्द्धन र बजारीकरणमा सहज भएको उद्योग संचालक तुलाराम दर्जीले बताए ।

 

आफुले उत्पादन गरेका कृषि उपज प्रदर्शनीमा राखेर बिक्रि वितरण र प्रचारप्रसार गर्न पाउदा खुशी लागेको वडा नं.८ चित्रेमा पन्चासे लप्सी प्रशोधन उद्योग संचालन गरेका गिताराम शर्माले बताए । पालिकाले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम संचालन गरेमा आफुहरुले उत्पादन गरेका सामाग्री बजारीकरणमा सहज हुने बताए । ३ दिनसम्म संचालन भएको कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार कृष्ण अखेलीले गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

मोदीमा कृषिका २२ वटा कार्यक्रम संचालन ।कृषि शाखा प्रमुख कृषि अधिकृत मनिषा महतले मोदी गाउँपालिकामा कृषिको क्षेत्रमा कृषकमुखि नवीनतम कार्यक्रम संचालन भएको बताइन् । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकहरूलाई आयआर्जनमा जोड्न विभिन्न किसिमका २२ वटा कृषि कार्यक्रम संचालन गरिएको उनले बताइन् । महतले भनिन् “कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदान तथा औजार वितरण गर्दै आएका छौँ । “कृषिमा आधुनिकीकरण, प्रबिधिकरण, विविधीकरण र बजारीकरणमा जोड दिएका छौँ ।“ रैथाने बालीको संरक्षण, मोदी नमुना प्राङरिक कृषि गाउँ, साना सिचाइ मर्मत लगायतका कार्यक्रम संचालन भएको बताइन् । बिद्यार्थीहरुलाई कृषि पेसाको महत्त्व बताउन देशमै नमुना कार्यक्रमका रुपमा पालिका भित्रका ११ वटा माध्यामिक बिद्यालयहरुमा कृषि कार्यक्रम संचालन गरिने समेत कृषि अधिकृत महतको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...