कर्मचारीको अभावले मनाङमा कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो

मनाङ, मंसिर १३ गते ।गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले खुद्रे तथा साना एवं गोजीबाट छनौट भएका कार्यक्रम कार्यान्वयनमा प्रभावकारी नहुने बताउनु भएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मनाङका कार्यालय प्रमुखहरुसंग मंगलबार चामेमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले अझै पनि साना तथा टुक्रे योजना छनौट हुनुले कार्यान्वयमा कठिनाई हुने गरेको बताउनु भएको हो ।

मनाङमा यस बर्षको बाढी तथा पहिरोले प्रभावित भएकोले धेरै क्षेत्र अस्त व्यस्त देखिएको उल्लेख गर्दै मन्त्री बरालले यसमा प्रदेश मात्र नभई संघिय सरकारको समेत बढी ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । मन्त्री बरालले जनताको आधारभूत आवश्यकताको आधारमा ध्यान केन्द्रित भई काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

 

सुरक्षा क्षेत्रलाई प्रोत्साहत हुने गरी सेवा सुविधा उपलब्ध गराउने बिषयमा मन्त्रालयको गहिरो गरी ध्यान केन्द्रित भएको उहाँले बताउनु भयो । प्रदेश सरकारले आन्तरिक श्रोत बृद्धि हुने गरी सवैको ध्यान केन्द्रित हुनुपर्ने मन्त्री बरालको भनाई थियो ।

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले अन्तिम चौमासिकमा खर्च गर्ने परिपार्टी परिवर्तन गर्न सुझाव दिनु भयो । दोश्रो चौमासिक पुगे पछि कार्यान्वयन नहुने कार्यक्रमहरु अर्थ मन्त्रालयको पूर्व सहमतिमा आवश्यकताको आधारमा यही शिर्शकमा रकमान्तर गर्न सकिने उहाँले बतानु भयो ।

पुर्वाधार विकास कार्यालय मनाङका निमित्त कार्यालय प्रमुख प्रलाद दाहालले यस बर्ष मनाङमा बाढी र पहिरोलदे ठुलो क्षति भएकोले विनियोजन बजेट न्यून भएको बताउनु भयो । फागुन देखि ४ महिना मात्र काम गर्ने वातावरण हुने हुदा मनाङमा विकास निर्माणमा कठिन हुने गरेको उहाँले बताउनु भयो ।

स्वस्थ्य कार्यालय मनाङका बद्रीराज आचार्यले स्वास्थ्य निर्देशीका ढिलो आउदा कार्यान्वयमा कठिन भएको गुनासो गर्नु भयो । मनाङको एक मात्र सरकारी कार्यालय मध्य स्वास्थ्यमा एउटा पनि सवारी साधन नभएको बताउदै उहाँले कोरोनाबाट मनाङका ७ जनाको मृत्यु भएको जनाउनु भयो ।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयका मोतीलाल चपाईले मावि तहमा अझै पनि बिषयगत शिक्षकको दरवन्दी नहुदा गुणस्तरिय शिक्षा हासिल गर्न कठिन भएको बताउनु भयो । त्यसै गरी ११ बिद्यालय मध्य ९ वटामा मात्र कर्मचारी दरवन्दी भएको उहाँले गुनासो गर्नु भयो ।

मनाङका डिएसपी सुवास खड्काले माथिल्लो मनाङ क्षेत्रमा प्र्रहरीहरुलाई आवश्यक पर्ने मौसम अनुसारको पोसाक तथा खानपिनको प्रमुख समस्या भएको बताउनु भयो । उहाँले पछिल्लो समयमा पर्यटकहरु मनाङमा आउन थालेकोले उनीहरुको रेखदेख गर्न सवारी साधनले गर्दा कठिन भएको गुनासो गर्नु भयो ।

 

यस अघि मन्त्रालयले बागलुङ, मुस्ताङ, म्याग्दीका प्रादेशिक कार्यालयहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारीले बताउनु भयो । स्थानिय कपिल लामाले यस बर्ष मनाङमा बाढी पहिरोको कारण ठुलो लगानी आवश्यक भएको बताउनु भयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यको अध्यक्षतामा भएको छलफलमा भुगोल मौसम, कर्मचारी अभाव, बिद्युत सेवा, सवारी साधानको अभाव, कम बजेट विनियोजन लगायतका समस्या भएको कारण विनियोजन भएको कार्यक्रम कार्यान्वयनमा कठिन भएको कार्यालय प्रमुख एवं प्रतिनिधिहरुले गुनासो गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...