जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव

धनुषा, मङ्सिर १७ गते । जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम रहेको छ ।नगर दर्शनमा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालकलाई जानकी मन्दिरको प्राङ्गणबाट मिथिलानगर घुमाइने मन्दिरका सह–महन्त रामरोशनदास वैष्णवले जानकारी दिनुभयो ।

नगर दर्शन हेर्न जानकी मन्दिरमा आजका दिन श्रद्धालुको भक्तजनको भीडले राम र लक्ष्मणलाई फूल बर्षाएर स्वागत गर्दछन् । आजदेखि सुरु भएको महोत्सव मङ्सिर २३ गतेसम्म चल्नेछ । भोलि शनिबार फूलबारी लीला, मङ्सिर १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर तथा विवाह र २३ गते रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

 

मङ्सिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्यरुपमा मनाइने गरिन्छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यो पर्वलाई विशेष महोत्सवका रूपमा मनाउँदै आएका छन् । यो महोत्सवमा नेपाल र भारतलगायत अन्य राष्ट्रका धार्मिक पर्यटक सहभागी हुँदै आएका छन् ।

 

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा यस महोत्सवको आयोजना हुँदै आएकोे महन्थ रामतपेश्वर दास वैष्णवले जनाउनुभयो ।

 

गोस्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ३३ कोटी देवी देवताको उपस्थिति थियो । सीतालाई छोरी वा बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाइलगायत अन्य धर्मावलम्बी पनि सामेल हुँदै आएका छन् । महोत्सवका क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार पनि हुने गरेको छ ।

 

पौराणिक व्यवस्थाअनुसार राममन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोलीमा राखी रङ्गभूमि पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा पु¥याइन्छ । रङ्गभूमिमा स्वयम्बरका साथै वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ ।

महोत्सवका लागि तयारी
महोत्व मनाउनका लागि जानकी मन्दिरमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्यरुपमा मनाउनका लागि तयारीमा जुट्न मन्दिरका महन्थ वैष्णवले सबैलाई आग्रह गर्नुभएकामा सर्वपक्षीय बैठकले विभिन्न समिति उपसमिति गठन गरेको छ । जस्मा शान्तिसुरक्षा, प्रचारप्रसार, बजार व्यवस्था, रङ्ग भूमिमा द्वार निर्माण, स्वास्थ्योपचारका साथै पण्डाल, सवारी साधान र ट्राफिक व्यवस्थापन जस्ता उसमिति गठन गरेर भक्तजनको सुविधाका लागि कार्यरत रहेको उहाँको भनाइ थियो ।

अयोध्याबाट जन्ती नआउने
महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने गरेकामा केही वर्षदेखि रोकिएको र यस वर्ष पनि नआउने भएको छ । विधि पु¥याउनका लागि भने केही मात्रामा साधुसन्त तथा महन्थ आउने महन्थ दासले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण फैलिएदेखि अयोध्याबाट विवाहपञ्चमीमा जन्ती आएका छैनन् ।

जनकपुरधाममा हुने विभिन्न महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सवका रूपमा रामजानकी विवाह पञ्चमीलाई लिइन्छ । विगत दुई वर्ष कोरोनाले महोत्सवलाई पनि असर पारेकामा यस वर्ष भने केही सहज हुने विश्वास गरिएको छ । दुवै देशमा कोरोना अहिले नियन्त्रणको अवस्थामा रहेकाले महोत्सवमा अत्यधिक भीड हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...