शिवालय माविको वार्षिकोत्सव, ५ जनालाई सम्मान, ३ लाखको अक्षयकोष स्थापना

पोखरा, पुस २२ गते । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी शिक्षिका रस्मिला खनाल, पूर्व विद्यार्थी तथा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक मनबहादुर भुजेल, पूर्व विद्यार्थी तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य दुर्गाबहादुर विक र पूर्व प्रधानाध्यापक रोशनलाल गुरुङ रहेका थिए ।

सोही कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी टीकाराम सुवेदीले आफ्ना माता र पिता सरस्वती सुवेदी र दण्डापाणि सुवेदीको स्मृतिमा ३ लाख रुपैयाँ तथा पूर्व विद्यार्थी डा. नारायण ओझाले आफ्ना माता र पिता डिलकुमारी ओझा र विश्वनाथ ओझाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि ५० हजार रुपैयाँको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीलाई हस्तान्तरण गरे ।

 

कार्यक्रममा पूर्व गृहमन्त्री खगराज अधिकारीले शैक्षिक क्षेत्रमा राजनीति हावी हुन नहुने तर्क गरे । शिक्षक, विद्यार्थी र अभिभावक जिम्मेवार भए मात्रै शैक्षिक उद्देश्य हासिल हुने भन्दै अधिकारीले शिक्षकलाई जुनीभर कुलतमा लाग्ने छुट नभएकोमा जोड दिए । पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका उनले सेवानिवृत्त भएपछि पनि शिक्षक शिक्षक नै रहने धारणा राखे । विद्यालयीय तहदेखि नै राष्ट्रिय भावनाको विकास विद्यार्थीमा गराउनुपर्नेमा जोड दिँदै उनले राज्यले शैक्षिक क्षेत्रमा संविधानविपरीत काम गरिरहेको आरोप लगाए । संविधानको मौलिक हकका रूपमा निःशुल्क शिक्षा पाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयनमा राज्य उदासीन रहेको उनको भनाइ थियो । सामुदायिक विद्यालयहरूमा निजी स्रोतका शिक्षक राख्नुपर्ने बाध्यता हुनु र शुल्क लिन नपाउनु एकापसमा विरोधाभासपूर्ण रहेको अधिकारीले बताए ।

 

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाले शैक्षिक उन्नयका लागि सधैँ प्रयत्न गरिरहेको र सो प्रयत्नको प्रतिफल शिवालयले देखाएकोमा खुसी व्यक्त गरे । ‘हामीले खोजेको शैक्षिक विकास यस्तै हो’ शिवालय माविप्रति इङ्गित गर्दै ओझाले भने, ‘यसरी नै लगावका साथ विद्यालय प्रशासन र व्यवस्थापनले कार्य गर्ने हो भने शैक्षिक परिवर्तन सम्भव छ ।’ प्रविधिमैत्री सिकाइका लागि शिवालयले गरेको प्रयास अनुकरणीय रहेको ओझाको भनाइ थियो ।

 

शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालयका असल अभ्यासहरू अन्य विद्यालयमा जाँदा पनि उदाहरणका रूपमा प्रस्तुत गर्न सकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीले विद्यालयको व्यवस्थापकीय पक्षबाट गरिएका प्रयासहरूबारे जानकारी दिँदै विद्यार्थीको हितका लागि अनेकौँ योजनाहरू सञ्चालन गरिएको बताए । विद्यालयले वर्षौँदेखि झेल्दै आएको खानेपानीको समस्या समाधानका लागि पहल गरिएको भन्दै सुवेदीले यसका लागि स्थानीय सरकार तथा सङ्घीय सरकारको ध्यानाकर्षण गराए । स्मार्ट टिभीका माध्यमबाट प्रविधिमैत्री सिकाइ भइरहेको विद्यालयमा विषयगत प्रयोगशाला स्थापनाको अवधारणासहित अघि बढेको उनको भनाइ थियो ।

 

विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक रुपिन्द्र प्रभावीले र आर्थिक प्रतिवेदन लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका कार्यक्रममा शैक्षिक सत्र २०७७ तथा विभिन्न सहकार्यकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मणिराम ओझा, शिक्षा शाखा प्रमुख सन्दिप पौडेललगायतले पुरस्कार वितरण गरेका थिए । यसै गरी विद्यालयमा स्थापित ८ ओटा अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीहरूलाई पुस्कृत गरिएको थियो ।

 

कार्यक्रममा पूर्व प्रधानाध्यापक डा. गणपति ओझा, रोशनलाल गुरुङ, पूर्व विद्यार्थी डा. नारायण ओझा, मनबहादुर भुजेल, राजेन्द्र ओझा, विव्यसका पूर्व सदस्य दुर्गाबहादुर विक, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, सल्लाहकार बलबहादुर गुरुङ, पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष शिवराज सुवेदीलगायतले शुभकामना दिएका थिए ।शिक्षक जयराम सुवेदीको सञ्चालन र शिवालय बाल क्लबका अध्यक्ष निश्चल ओझाको स्वागतमा भएको कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्यलगायतका सांस्कृतिक प्रस्तुतिहरू राखेका थिए । वि. सं. २०१७ मा स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...