
यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पंक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधी मनशान्त घिमिरेले जानकारी दिए ।
दक्षिण एसियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाईमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानी चरा गणना पोखरामा रहेका केहि पथ प्रर्दशकहरु, नेपाल पंक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पंक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।
पहिलो दिन बिजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपंछी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए ।
यसबर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पंछी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पंक्षी संरक्षण संघपोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए ।
हाल सम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि बर्षै भरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।