संक्रमण बढेसंगै कास्कीमा भोलिदेखि स्मार्ट लकडाउन

कास्कीमा माघ १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार एक विज्ञप्ती निकालेर माघ १ गते शनिबारदेखि कास्की जिल्लाभरी स्मार्ट लकडाउन हुने जनाएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोभिड–१९ को नया भेरियन्ट ओमिक्रोनसहितको संक्रमण फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि कास्की जिल्लाभरी माघ १ गतेदेखि अर्को आदेश जारी नभएसम्मका लागि स्मार्ट लकडाउन घोषणा गरिएको जानकारी दिए ।

प्रजिअ आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘कोभिड–१९ संकट ब्यबस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड –१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रममक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा कोभिड–१९ संकट ब्यबस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ ।’

प्रशासनले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, मेला, सभा, सम्मेलनलगायतका कार्यक्रम नगर्न÷नगराउन प्रशासनले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम जिल्ला स्थित सम्पूर्ण आधारभुत तथा माध्यमिक विद्यालयहरुको पठनपाठन नगर्ने÷नगराउन प्रशासनले आदेश जारी गरेको छ । तर पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना हुने गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रशासनले धार्मिक, पारम्परिक, सांस्कृतिक कार्य गर्दा÷गराउँदा परिवारमा मात्र सिमति गर्न भनेको छ । साथै सार्वजनिक सवारी साधनहरु सञ्चालन तथा प्रयोग गर्दा सवारी साधनको सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, चालक÷सहचालक र यात्रुले अनिवार्य रुपमा मास्कीको प्रयोग गर्ने, सवारी साधनमा स्यानिटाइजरको अनिवार्य ब्यबस्था गर्न भनिएको छ । लामा दुरीका सवारी साधन तथा हवाईजहाजबाट यात्रा गर्नुपूर्व खोप कार्ड वा कोभिड–१९ को नेगेटिभ रिपोर्ट भएको प्रमाण अनिवार्य लिन दिन भनिएको छ ।

प्रशासनले जिल्लास्थित सेवा प्रदायक निकायहरुमा सेवा प्रवाह गर्दा सेवाग्राहीहरुले अनिवार्य कोभिडबिरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भनेको छ । साथै सेवा प्रदायकहरुले खुल्ला स्थानमा अनिवार्य सामाजिक दुरी कायम गरेर सेवा दिने ब्यबस्था मिलाउनपनि भनेको छ ।प्रशासनले कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गरि घर बाहिर निस्कदा, सार्वजनिक सवारी प्रयोग गर्दा अनिवार्य रुपमा उचित तरिकाले मास्कको प्रयोग गर्ने, भौतिक सामाजिक दुरी कायम गर्नुपर्ने र समय समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोगसहितका तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्न÷गराउन आदेश जारी गरेको छ ।

त्यस्तै, औषधीलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य बृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने उपर कानून बमोजिम कारवाही हुने जनाइएको छ । साथै औद्योगिक तथा व्यवसायीक संस्था, फर्म तथा पसलहरुले तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सञ्चालन गर्नुपर्ने प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । आदेश उलंघन गरेको पाइए प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...