औद्योगिक व्यापार मेलाको आन्तरिक तयारी

पोखरा, माघ ५ । पोखरा उद्योग वाणिज्य संघले आउँदो फागुन १६ गतेबाट तय भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालेको छ । संघले फागुन १६ देखि २२ गतेसम्म व्यापार मेलाको मिति तय गरेको छ ।कोभिड–१९ को तेस्रो लहरसँगै प्रशासनले मेला÷महोत्सव आयोजनामा रोक लगाए पनि फागुनसम्म स्थिति सहज हुने अनुमानका साथ मेलाको आन्तरिक तयारी अघि बढाइएको संघका अध्यक्ष नारायण कोइरालाले बताए ।


‘२ वर्षदेखि कोभिडका कारण संकुचनमा परेको अर्थव्यवस्थालाई चलायमान बनाउन पनि मेला÷महोत्सव आवश्यक छ’,उनले भने,‘ देश सशस्त्र द्वन्द्वमा हुँदा मेला÷महोत्सवमार्फत् नै अर्थतन्त्र चलायनमान बनाएको अनुभवलाई हामी यसपटक पनि प्रयोग गर्ने ध्येयले पनि तयारी थालिएको हो ।’ उनले द्वन्द्वकालीन समयमा २० जना मान्छे एकैठाउँमा भेला हुन बन्देज लगाइएको परिस्थितिको स्मरण गर्दै अगाडि थपे,‘संकटको बेला अर्थतन्त्र संकुचनमा पर्छ र त्यसलाई चलायमान बनाउन मेला÷महोत्सव आवश्यक पर्छ ।’ यद्यपि, महामारी साम्य नभएमा भने स्वास्थ्यजस्तो संवेदनशील विषयलाई हामी नजरअन्दाज नगर्ने उनले प्रष्ट पारे । उनले स्थिति सहज भए यो पटकको मेला विशुद्ध उद्यमशीलताप्रति समर्पित हुने उद्घोष पनि गरे ।

‘हामी यो पटकको मेलालाई विशेष बनाउने योजनामा छौँ’,उनले भने,‘मेला नवप्रवर्तन,उद्यमशीलता विकास तथा पोखरा र गण्डकी प्रदेशमा नयाँ सम्भावनाको खोजीमा समर्पित रहने छ ।’संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार मेलालाई उपलब्धीमूलक बनाउन विज्ञहरुसँग छलफल सुरु गरिएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले संक्रमण बिस्तारै घट्ने आँकलन गरिरहेकाले फागुनसम्म मेलाको अनुमति पाइएला भनेर नै तयारी अगाडि बढाइएको पनि उनले बताए । अहिले भने संघले उद्योगी÷व्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड पालनासहित व्यवसाय गर्न आग्रह गरेको उनले स्मरण गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...