प्रदेश नं १ को नामकरण ‘किरात सगरमाथा’ राख्न सुझाव

किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो ।

इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् ।

आदिवासी सङ्ग्रहालय अलपत्र

नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आदिवासी सङ्ग्रहालय निर्माण अलपत्र बनेको छ ।

महासङ्घले दमक नगरपालिका–८ बालुवाटार क्षेत्रमा रहेको नौ कट्ठा जमिनमा पाँच वर्षदेखि सङ्ग्रहालय निर्माण थालिए पनि बजेट अभावका कारण सङ्ग्रहालय अलपत्र बन्न पुगेको हो ।

महासङ्घले स्थानीय तथा नगरपालिकासँग सहयोग जुटाएर जग्गाको व्यवस्थापन गरेको थियो । तर जग्गा प्राप्तिसँगै प्रारम्भिक चरणका काम सुरु भए पनि बजेटसँगै नामकरण विवादले निर्माणाधीन योजना अलपत्र बन्न पुगेको आदिवासी अगुवाले बताएका छन् ।

नगरपालिकाले एकतर्फी रुपमा सङ्ग्रहालयलाई दुई वर्षअघि ‘बहुजातीय सङ्ग्रहालय’ नामकरण गरी भाँजो हाल्ने काम गरेको आदिवासी जनजातिका अगुवाको तर्क छ ।
महासङ्घ झापा जिल्ला समन्वय परिषद्का पूर्वाध्यक्ष पारशमणि राईले महासङ्घले सुरु गरेको कामले सुरुआत हुनै नपाउँदा नगरपालिकाले त्यसमा भाँजो हाल्ने काम शुरु गरेको आरोप लगाउनुभयो । आदिवासी जनजातिको कला, संस्कृतिको संरक्षण गर्न महासङ्घले सङ्ग्रहालय बनाउने लक्ष्य राखेर काम सुरुआत गरिए पनि नगरपालिकाले भाँजो गरेर काम प्रभावित बनाएको उहाँको भनाइ छ ।

दमक नगरपालिकाले दमक –९ स्थित प्रधान टोलमा निर्माणाधीन फाल्गुनन्द सभागृहको नाम पनि यसअघि नै परिवर्तन गरी दमक सभागृह बनाएको छ । त्यहाँ स्थानीयवासीले उपलब्ध गराएको करिब एक बिघा जमिनमा पाँच वर्षदेखि प्रदेशकै गौरवका रुपमा सभागृह निर्माणाधीन अवस्थामा छ ।

निर्माणको आधा काम सकिएपछि नगरपालिकाले एकतर्फी रुपमा सभागृहको नाम एकाएक परिवर्तन गरेको थियो । सभागृहको नाममा आदिवासी जनजातिहरुबाट विरोध आए पनि नगरपालिकाले त्यसबारे बेखबर बनेको छ ।

जनता समाजवादी झापाका अध्यक्ष दीपेनवाला राईले स्थानीय सरकारले आदिवासी जनजातिको भावनामाथि खेलबाड गर्न उद्यत भएको आरोप लगाउँदै आदिवासी जनजातिको पहिचानमाथि आक्रमण गर्ने, बलजफ्ती गर्ने कार्य कसैले गर्नु नहुने बताउनुभयो ।

मोबाइल व्यवसायीले गरे रक्तदान

दमक मोबाइल व्यवसायी सङ्घले आफ्नो नवाँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित रक्तदानमा ५० युनिट रगत सङ्कलन भएको छ ।

स्थानीय गणतन्त्र चौकमा आयोजित खुला रक्तदान कार्यक्रममा ६ महिलासहित ५० जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक होमनाथ सापकोटाले जानकारी दिनुभयो । बिरामीलाई रगतको अभाव हुन नदिन सङ्घले बर्सेनि आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजना गरिआएको अध्यक्ष भेनस श्रेष्ठले बताउनुभयो । रक्तदानमा सहभागीलाई प्रशंसापत्रसमेत वितरण गरियो ।

यसैगरी स्थापना दिवसकै अवसरमा आज नै दमक–४ स्थित ताराबारी आधारभूत विद्यालयका छात्रा विद्यार्थीहरुका लागि महिनावारी शिक्षासहित सहयोगी सामग्री हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...