पशुपालनबाट राम्रै आम्दानी गर्दै अपाङ्गता भएकी दरै

“एउटा पनि बाख्रा किन्ने हैसियत थिएन्”, व्यास नगरपालिका–१ खकौली निवासी ४० वर्षीय श्रीमाया दरै भन्नुहुन्छ, “भगवान् प्रकट भए झै लाग्छ । अपाङ्गता भएका व्यक्तिका लागि अधिकार र विकासको लागि स्रोत केन्द्र (रिसेड) ले सानै रकम भए पनि सहयोग गरेपछि आफू आयआर्जनतर्फ लागेको हुँ ।”

स्थानीय अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउन उक्त संस्थाले सानै रकम भए पनि सहयोग गरेपछि उनीहरु व्यावसायिकरुपमा कृषि र पशुपालन क्षेत्रमा लागेर आम्दानी गर्न थालेका छन् । श्रीमायाका श्रीमान् कुलबहादुर पनि अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ उहाँहरुका एक छोरा कक्षा ९ मा अध्ययनरत छन् । दुई वर्षअघि रिसेड संस्थाले रु पाँच हजार अनुदान सहयोग दिएपछि रु दुई हजार आफूले थपेर एउटा बङ्गुरको पाठा पालेको श्रीमायाले बताउनुभयो । करिब एक वर्ष पालेको बङ्गुर ४५ धार्नी हुँदा रु ४५ हजार कमाइएको उहाँले जानकारी दिनुभयोे ।

बङगुर बिक्री गरेपछि पुनः श्रीमायाले साढे सात हजारमा अर्को बङ्गुरको पाठा ल्याएर पाल्नुभएको थियो। बङ्गुर बिक्रीबाट आएको रकमले बाख्राको खोर निर्माण गरी एउटा बाख्रा ल्याएर पाल्न थाल्नु भएकी उहाँको खोरमा हाल नौ वटा बाख्रा रहेका र अहिले तिनको मूल्य रु एक लाख बीस हजार बराबर रहेको बताइएको छ ।

करिब रु ५० हजार बराबरको तीन वटा खसीबोका बिक्री गरिएको श्रीमायाले बताउनुभयो । हिँडडुल गर्ने समयमा एउटा खुट्टा सुकेर अपाङ्गता बन्नुभएकी उहाँले व्यावसायिक रुपमा बाख्रापालन कार्यलाई अघि बढाउँदै आउनुभएको हो ।

उक्त संस्थाले गत चैत महिनामा पुनः रु सात हजार अनुदान सहयोग गरेपछि एउटा बाख्रा थपिएको थियो । जिल्लाको म्याग्देमा पाँच, शुक्लागण्डकीमा तीन, ऋषिङ, बन्दिपुर र घिरीङमा दुई÷दुई र भिमाद, भानु, देवघाट र आँबुखैरेनीमा एक÷एकजना गरी १८ जनालाई आर्थिक सहयोग गरिएकोे रिसेडका अध्यक्ष पदमबहादुर परियारले बताउनुभयो । नगरपालिकालाई रु सात हजार र गाउँपालिका अपाङ्गतालाई रु पाँच हजारका दरले उक्त संस्थाले अनुदानमा सहयोग दिएको थियो ।

त्यसैगरी व्यासनगरपालिकाका चौध वटा वडामा २७ जनालाई रु सात हजारका दरले अनुदान रकम वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...