पर्यटन पुनरुत्थानका लागि ‘फेवा नववर्ष महोत्सव’

नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको होटल सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो ।

नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइटमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सवको अवसरमा सङ्घले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि सङ्घले हालै बुटवल, हेटाँैडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । महोत्सवको अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग वियर मुख्य प्रायोजक रहेको छ । पोखरा पर्यटन परिषद्लगायत अन्य छभन्दा बढी सङ्घसंस्थाले महोत्सवलाई सहयोग गर्नेछन् ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ । कूल रु ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहले कोभिड त्रासको दुई वर्षपछि पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदै गएको र यस्ता मेला महोत्सवले पर्यटक आगमन बढ्ने बताउनुभयो । उहाँले महोत्सवको उद्देश्य महामारीपछि आन्तरिक र विदेशी पर्यटकलाई स्वागत गर्न पोखरालगायत पर्यटकीय क्षेत्र तयारी अवस्थामा छन् भनेर सन्देश दिनु पनि हो भन्नुभयो ।

कार्यवाहक अध्यक्ष शाहले आगामी सिजनका लागि आइरहेको इन्क्वायरी उत्साहवद्र्धक रहेको र यसले आउने दिनमा पर्यटनका लागि सुखद् रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । अध्यक्ष सुवेदीका अनुसार पोखरामा अहिले पर्यटकदेखि पाँचतारेसम्म गरी एक हजार २०० होटल छन् । ती होटलमा ४० हजार बेड रहेका छन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने विदेशी पर्यटकको व्यवस्थानका लागि आवश्यक पूर्वाधार थपिँदै गरेको पनि व्यवसायीको भनाइ छ ।

होटल सङ्घका केन्द्रीय सदस्य एवं होटल व्यवसायी भरत पराजुलीले पोखराको प्राकृतिक सुन्दरतालाई उत्सवमय बनाएर पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लाखौँ काठमाडौँवासीलाई पोखरा लगेर आर्थिक गतिविधि थप चलायमान बनाउन पनि मेला महोत्सव गरिँदै आएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...