कर्णालीमा ३७७ मतदान केन्द्र अति संवेदनशील

कर्णाली, कर्णाली प्रदेशमा ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले यहाँका दश जिल्ला ३७७ मतदान केन्द्र अति संवेदनशील रहेको जनाउनुभयो ।

उहाँले कर्णाली प्रदेशभरि ९०७ मतदानस्थलअन्तर्गत एक हजार ३८५ मतदान केन्द्र रहेको जनाउनुभयो । कूल मतदान केन्द्रमध्ये ३३८ सामान्य, ६७० संवेदनशील र ३७७ अतिसंवेदनशील रहेको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाले बताउनुभयो ।

उहाँले भौगोलिक विकटता, मतदान केन्द्रको दूरी, मतदाता सङ्ख्या, विगतको घटना विश्लेषण र राजनीतिक प्रभावलाई दृष्टिगत गरी मतदान केन्द्रको वर्गीकरण गरिएको र त्यहीअनुसार सुरक्षा प्रबन्ध मिलाइएको बताउनुभयो । आवश्यक सामग्रीसहित सबै मतदान केन्द्रमा सुरक्षा अवस्थाका बारेमा पनि निरीक्षण गरिएको निमित्त प्रहरी नायब महानिरीक्षक बास्तोलाको भनाइ थियो ।

“कर्णाली प्रदेश एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मत केन्द्र वर्गीकरण गरेर हामीले प्रदेशभरि सात हजार ७१३ म्यादी प्रहरी परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यस्तै पाँच हजारको हाराहारीमा नेपाली प्रहरी पनि खटाइएको छ । म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितलाई जोड्दा सुरक्षा अवस्था मजबुत बन्ने देखिन्छ ।”

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रत्येक जिल्लास्थित सुरक्षा समितिहरू क्रियाशील रहेकाले छिट्फुट घटनाबाहेक अवस्था शान्त नै छ र निर्वाचन प्रचारका लागि उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरिरहेका छन् । यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि हाल कर्णालीमा चार लाख ४९ हजार ३० महिला र चार लाख ५९ हजार ४०१ पुरुष गरी कूल मतदाता सङ्ख्या नौ लाख आठ हजार ४३३ रहेको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...