तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । निर्वाचनलाई भयरहित, निष्पक्ष बनाउने उद्देश्यसहित मौन अवधिको समयमा जिल्लाभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो । साथै बैठकले वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म राति ९ः३० बजेसम्म मात्र होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । निर्वाचनको प्रचारप्रसारको क्रममा उनीहरुले गर्ने सभा तथा ¥यालीलगायतका कार्यक्रमको बारेमा स्थानीय प्रशासनलाई जानकारी गराएर तथा त्यस्ता कार्यक्रम गर्दा एउटै बाटो र स्थान प्रयोग नगर्ने निर्णय भएको छ ।

प्रतिनिधिले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्नुका साथै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । निर्वाचन विरोधी क्रियाकलाप भइरहेको भेटिए यसको जानकारी प्रहरीलाई दिने निर्णय भएको छ ।

स्थानीय एफएम, रेडियो र पत्रपत्रिकाले निर्वाचन आचारसंहिताको पालना गरी सूचना सम्प्रेषण गर्ने तथा निर्वाचन विरोधी सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण नगर्ने बैठकमा निर्णय भएको छ । सामाजिक सञ्जालमार्फत कोही कसैप्रति लक्षित गरी गालीगलौज तथा भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह नगर्ने तथा नगराउने सहमति भएको प्रशासनले जनाएको छ ।

निर्वाचन अवधिभर जिल्लाका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले आवश्यक व्यवस्था मिलाउने भएका छन् ।

मतदान केन्द्रमा सामग्री ढुवानी

आसन्न निर्वाचनका लागि आजदेखि मतदान केन्द्रमा सामग्री पठाउने तयारी गरिएको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि मतदान सामग्री दिएर कर्मचारी परिचालन गर्न लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको केन्द्रसहितको विवरण सार्वजनिक गरिसकेको छ । छवटा स्थानीय तहलाई आज र चार वटा स्थानीय तहलाई मंगलबार सामग्री बुझाइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार घिरिङ , ऋषिङ, देवघाट , बन्दीपुर र आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकालाई आज तथा व्यास , भानु, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई मंगलबार सामग्री प्रदान गरिनेछ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीको नियुक्ति मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने र सहायक कर्मचारीहरुले नियुक्तिपत्र खटिएको स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध हुने कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...