कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छ : डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ ।नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले काठमाडौँ महानगरको नेतृत्व पाएमा सुशासन र समृद्धि ल्याउने दावी गर्नुभयो ।

“विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगर र वडामा विकासको कामले गति लिन सकेन, समृद्ध महानगर निर्माणका लागि एकपटक कांग्रेसलाई अवसर दिनुहोस्”, उहाँले भन्नुभयो । उहाँले सम्पूर्ण बुद्धिजीवी, नागरिक क्षेत्रका अगुवालगायतलाई लोकतन्त्र र कांग्रेसको पक्षमा मतदान गर्नसमेत आग्रह गर्नुभयो ।

प्रवक्ता डा महतले नेकपा सरकारले आफ्नो पाँचवर्षे कार्यकाल काम गर्न नसकी खेर फालेको जनाउँदै काम गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्नुभयो । कांग्रेस मुलुक र जनताका लागि जिम्मेवार पार्टी भएको उहाँको भनाइ थियो ।

कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति एवं स्थानीय निर्वाचनमा कामपा–४ का वडाध्यक्ष उम्मेदवार रामप्रसाद न्यौपानेले अनुशासित र भ्रष्टचाररहित वडा निर्माण आफ्नो मुख्य अभियान भएको बताउनुभयो ।

सोही वडामा कांग्रेसबाट वडा सदस्यमा सुवर्ण सिलवाल, सञ्जय श्रेष्ठ, महिला सदस्यमा सावित्री खनाल र दलित महिला सदस्यमा सीता दमाईले उम्मेदवारी दिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...