त्रिभुवन विश्वविद्यालय द्धारा नेपाल सरकारको निर्णयको ठाडो उल्लंघन

अधिवक्ता न्हुंछेनारायण श्रेष्ठ, नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने र कम पनि कटौती हुने सरकारी विश्वास छ । दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुले र बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ । नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिदाको बारे नेपाल राजपत्रमा समेत सूचना प्रकाशित भैसकेको छ । अहिले बिदाको बारे चौतर्फी चासोको बिषय बन्न पुगेको छ । नेपाल सरकारले हालै मात्रै विद्यालयहरु हप्ताको दुई दिन बिदा दिने भनेर पुनः स्पष्ट गरिसकेको छ ।

नेपाल सरकारको निर्णय सबै निकायहरुले कार्यान्वयन गर्नपर्ने हुन्छ तर त्रिभुवन विश्वविद्यालयले राजपत्रमा प्रकाशित गरेको सूचनाको बेवास्ता गर्दै बिदा बारे हाल सम्म पनि ठोस निर्णय गर्नसकेको छैन् । त्रिभुवन विश्वविद्यालयले बर्षे बिदा समय नआउंदै बिदा दिएको छ तर नेपाल सरकारले परिपत्र गरेको दुई दिने बिदा बारे भने हालसम्म कुनै ठोस निर्णय गर्नसकेको देखिंदैन् । स्थानीय तहको निर्वाचन आउन एक दिन बांकी रहेको र सो को भोलीपल्ट शनिबार छ भने आइतबारको दिन कार्यालय खुल्ने कि नखुल्ने त्रि.वि.मा कार्यरत कर्मचारी, शिक्षक र विद्यार्थीहरु अन्यौलमा परेका छन् । त्रि.वि. नेपाल सरकार अन्तर्गत पर्छ की पर्दैन र त्रि.वि. स्वायत्त हो भने किन समयमै निर्णय गर्नसक्दैन चौतर्फी प्रश्नचिन्ह उब्जेको छ ।

त्रि.वि. मा कोरोना महामारीको समयमा शिक्षकहरुले अनलाइन मार्फत अध्ययन अध्यापन गरिरहंदा समेत कर्मचारीहरु आफ्नो ज्यानको कुनै पर्वाह नगरी भौतिक रुपमा उपस्थित भई कार्यसम्पादन गरेको कुरा घाम जस्तै छर्लङ्गै छ । त्रि.वि.मा विभिन्न माग राख्दै तालबबन्दी भएको सांढे तिन महिना पुग्न लागीसकेको छ तर पनि त्रि.वि. को तालाबन्दी खोल्नको लागि कुनै ठोस पहल भएको देखिंदैन् । त्रि.वि को प्रशासनिक काम कारवाही मा खटिएका कर्मचारीहरु कसरी कार्यसम्पादन गरिरहेका छन् भन्ने तर्फ समेत त्रि.वि. पदाधिकारीहरुको ध्यान जानु आवश्यक रहेको छ ।

त्रि.वि. ले समयमै दुई दिने बिदा बारे आफ्नो स्पष्ट धारणा ल्याउनु पर्दछ र शिक्षक, कर्मचारी र विद्यार्थी वर्गमा परेको अन्यौलताको समाप्त गर्नु पर्दछ । शिक्षा मन्त्रालयले सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत रहनु दुःखद बिषय बन्न पुगेको छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ । तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्षको भनाइले त्रि.वि. का कर्मचारीहरु मर्कामा परेका छन् ।

त्रि.वि. मा पढाउने शिक्षकहरु, पढ्ने विद्यार्थीहरु नै नआउने भएपछि त्रि.वि. का कर्मचारीहरु मात्रै कार्यालय उपस्थित हुनुपर्ने वाध्यताको अन्त्य हुनुपर्ने आवश्यकता रहेको देखिन्छ । त्रि.वि.का शिक्षाध्यक्षका अनुसार निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना नरहेको कारण विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुने बताएका छन् । त्यसो हो भने स्थानीय तहको निर्वाचन पछाडी त्रि.वि. का पदाधिकारीहरुले नेपाल सरकारले दिने दुई दिने सार्वजनिक बिदाको बारे यथासिघ्र निर्णय गर्नु अपरिहार्य भैसकेको छ ।

त्रि.वि. मा कार्यरत कर्मचारीहरुको आधिकारीक संघ यस्तो विषम् परिस्थितीमा समेत आफ्नो धारणा राख्नबाट चुकेको छ । कर्मचारीहरुको हकहितका लागि उस्ले यथासिघ्र आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ भने त्रि.वि. मा रहेका अन्य संघ, संगठनहरु समेत किन मुक दर्शक बनेर बसेका हुन? गम्भिर प्रश्न उब्जेको छ । त्रि.वि.मा देखिएका विकृति विसंगतिलाई हटाउनको लागि त्रि.वि. मा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरु एकजुट हुने समय आएको छ । त्रि.वि. ले नेपाल सरकारले घोषणा गरेको दुई दिने बिदाको बारे समयमै निर्णय गर्न अब ढिलाई गर्नु हुंदैन् त्रि.वि. मा आधाको संख्यामा रहेका कर्मचारीहरुको मनोवल उच्च पार्दै समयमै बढुवाको व्यवस्था गर्नुपर्दछ भने खाली रहेका सिटहरुमा चांढो भन्दा चांंढो पदपूर्तिको ब्यबस्था मिलाउन सक्नु पर्दछ । कर्मचारी अभावकै कारण त्रि.वि. को प्रशासनिक कार्य अघि बढ्न नसकेको बिषय त्रि.वि. पदाधिकारीहरुले मनन् गर्नुपर्ने आवश्यकता समेत रहेको देखिन्छ । नेपाल सरकारको निर्णय अनुसार नै त्रि.वि. मा पनि दुई दिन बिदा हुनुपर्ने पर्दछ । यदि बिदा नदिने हो भने बिदा अवधिमा कार्य गरेको थप पारिश्रमिक त्रि.वि. ले प्रदान गर्नसक्नु पर्दछ । यस तर्फ सम्बिन्धित निकायको ध्यान जानु पर्दछ ।

(लेखक अधिवक्ता न्हुंछेनारायण श्रेष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयमा पिएच.डी अध्ययन गर्दै हुनुहुन्छ ।)

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...