प्रचण्डले मौन अवधिमा प्रचारप्रसार गर्दा ‘मौन बसेको’ भन्दै बागमती प्रहरी प्रमुख, चितवनका सिडिओ र एसपीलाई सोधियो स्पष्टीकरण

निर्वाचन आयोगले बागमती प्रहरी प्रमुखसहित तीन जनासँग स्पष्टीकरण सोधेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुजा सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक नवराज अधिकारीलाई स्पष्टीकरण सोधिएको सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।

उनका अनुसार बिहीबार तीनै जनालाई आठ घण्टे स्पष्टीकरण सोधिएको हो।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मौन अवधिमा भरतपुर पुगेर प्रचाप्रसारमा लागेको खबरपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

‘प्रचण्ड भरतपुर आएको र मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएको तर उहाँहरूले आचारसंहिताको उल्लंघन भएको विषयलाई रोक्न नसकेको, प्रचारप्रसार भएको विषय मुख्य निर्वाचन अधिकृतलाई जानकारी पनि नगराएको,’ उनले भने, ‘आचारसंहिता उल्लंघन भइरहँदा उहाँहरू स्वयम् समेत उपस्थित भएर कारबाही नगरी मौन बस्ने काम गरेको पाइयो। यसले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा प्रश्न उठ्ने हुँदा स्पष्टीकरण सोधेको हो।’

उनीहरूसँगै आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्ड समेतलाई स्पष्टीकरण सोधिएको भट्टराईले बताए।

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका कार्यकर्ता अस्मिन घिमिरेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरी दरपीठ भएको थियो।

प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले आचारसंहिताको कुनै प्रवाह नगरी भरतपुर महानगरपालिका र माडी नगरपालिकाका मतदाताको घर-घरमा पुगेर प्रभाव पार्न खोजेको आरोप उजुरीमा उल्लेख थियो।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको दाबी गर्दै छानबिन गरी रोक्न र आचार संहिता उल्लंघन गर्नेलाई कानुनअनुसारको कारबाही गर्न माग गरिएको थियो।

‘तर मेरो उजुरी प्रमाण पुगेन भन्दै दर्ता गरिएन। सरकारी गाडीको लावालस्कर लिएर प्रचण्ड घुमिरहेको भिडिओ नै लिएर निर्वाचन कार्यालय पुगेका थियौं,’ घिमिरेले भने, ‘राज्यशक्तिको चरम दुरूपयोग भएको देख्दादेख्दै पनि निर्वाचन कार्यालयले छुट दिइराखेको छ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...