छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको हो । अन्य पुस्तक धमाधम वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।

चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक वितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ ।

अझै १५ हजार सेट पुस्तक माग भएको उहाँले बताउनुभयो । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको बताउँदै उहाँले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताउनुभयो ।

यहाँबाट वितरण हुने जिल्लामा १६५ वटा पुस्तक पसल दर्ता भएर पुस्तक बिक्रीवितरण गर्न लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उहाँको भनाइ छ । जिल्लामा मात्रै ८९ वटा पुस्तक पसल दर्तामा रहेको छन् । जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् ।

ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताउनुभयो । यस जिल्लालाई उच्च प्रथामिकतामा राखेर थप पुस्तक पठाउन लिखितरुपमै अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...