अन्नपूर्ण केबलकारको संचालन समयमा परिवर्तन

पोखरा । पोखराको सेदी बगरदेखि सराङकोटसम्म संचालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । सनराइज हेर्न जाने यात्रुलाई लक्षित गर्दै बिहान दिँदै आएको सेवा मौसमका कारण असार १ गतेदेखि भाद्र मसान्तसम्मको लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ ।

बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रुलाई लक्षित गरि दिइदै आएको सेवा मात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भाद्र मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजे पछि भने केबलकार सधैँजस्तै दैनिक संचालनमा रहने पनि सो कम्पनीले जानकारी दिएको छ ।

मौसम खुलेसँगै केबलकारमा चढेर सनराइज हेर्ने सेवा आगामी असोज १ गतेदेखि पुन संचालनमा आउने बताइएको छ । पर्यटकीय नगरी पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको फेवा किनारको सेदी बगरबाट अन्नपूर्ण केबलकार चढेर आगन्तुकहरुले खुल्ला मौसममा विभिन्न हिमाली श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्द लिन पाँउछन् ।

 

अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाली श्रृंखलाको आनन्द लिँदै केबलकार परिसरबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति स्तुपा लगायतका दृश्य पनि हेर्न सकिन्छ । केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८२४ मिटरको उचाइमा र टप स्टेसन १५२३ मिटर उचाइमा रहेको छ ।

 

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा रहेका छन् । गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको केबलकार पर्यटकहरुका लागि पोखरामा नयाँ अनुभवसँगै थप एक दिनको गन्तव्य बनेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...