क्यामरुनी टोली एभिनियर फाइनलमा

क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेम्जा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार हेम्जा स्थिति गौरीशंकर खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा प्रवेश गरेको हो ।

हेम्जा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगिताको चौथो मिनेटमा नै चर्चब्वाइजले पहिला अग्रता लिएको थियो । चर्च ब्वाइजका कप्तान मिलन राईले हेडमार्फत गोल गरे । चर्च ब्वाइजले फ्रिकिकमा गोल गरेको हो । त्यसको ३ मिनेट पछि एभिनियरले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । सामेसामेले प्रहार गरेको बलले विवेक पौडेलको हातमा लागेपछि ७ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । एभिनियरका आनिसेले उक्त पेनाल्टीको सदुपयोग गर्दै सहजै गोल गरेका थिए । यस अघि छैटौं मिनेटमा एभिनियरका सामेसामेकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । २१ औं मिनेटमा एभिनियरले पाएको फ्रिकिकको सदुपयोग गर्न नसक्दा अग्रता दोब्बर पार्न बाट चुक्यो । चर्च ब्वाइजका विवेकले नै एभिनियरका टिम्बाटिम्बालाई लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो ।

 

नेल्सनले प्रहार गरेको उक्त फ्रिकिक निकै बाहिरियो । २९ औं मिनेटमा चर्च ब्वाइजका अञ्जन विष्टको हेडरलाई एभिनियरका गोलरक्षक कोभास्सिले उत्कृष्ट बचाउ गर्दा चर्च ब्वाइज अग्रता गर्न बाट चुक्यो । ४४ औं मिनेटमा अर्को अवसर खेर फाल्यो । आसिष चौधरीको पासमा कप्तान मिलनको प्रहारलाई पुनः गोलरक्षक कोभास्सिले बचाउ गर्दै गोल गर्ने अवसर विफल पारिदिए । खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा रोकियो । दोस्रो हाफमा भने एभिनियर खेलमा हाबि भएको थियो ।

 

खेलको ५१ औं मिनेटमा चर्च ब्वाइजका दिनेश राजवंशीले एभिनियरका स्टेफनलाई लगाएपछि विवाद भएको थियो । मुख्य रेफ्री सन्तोष गुरुङले उनीहरु दुवैलाई रातो कार्ड दिएका थिए । त्यसपछि दुवैटोली १० खेलाडीमा सिमित भएका थिए । दोस्रो हाफमा चर्च ब्वाइजलाई निकै दबाबमा राखेको एभिनियरका लागि साङ्गले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । उनले ७६ औं मिनेटमा २ डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । एभिनियरले यस अघि एपिएफ क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

 

जितसंगै एभिनियरले उपाधिका लागि आयोजक हेम्जा युनाइटेडसंग भिड्ने छ । आयोजक हेम्जाले क्वटरफाइनलमा विरगंज युनाइटेडलाई र सेमिफाइनलमा खुमलटार युथ क्ल्बलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । उपाधी भिडन्त भने शनिबार हुनेछ । विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...