‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

भरतपुर आँखा अस्पतालका जलविन्दु विशेषज्ञ डा रञ्जितकुमार साहले प्रायः ४० वर्ष काटेकालाई वंशाणुगतरूपमा जलविन्दु देखिने गरेको जानकारी दिनुभये । उहाँले जलविन्दु आमाको गर्भदेखि नै हुनसक्ने भन्दै प्रायः धेरैजसो ४० वर्ष उमेर काटेकालाई देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “ जलविन्दुको सुरुआती चरणमा लक्षणहरू देखिदैन । विस्तारै आँखाको दृष्टि खुम्चिँदै गएर सिधा अगाडिको मात्रै देखिने अवस्था आउँछ ।” जलविन्दु रोगको पहिचान गर्न बर्सेनि आँखा परीक्षण गर्न र आँखाको प्रेसर, देख्ने क्षमता (दृष्टि परिधि), कोर्नियाको मोटाइलगायतको परीक्षणबाट जलविन्दु पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।

उहाँले परिवारमा कसैलाई जलविन्दुु भएमा, मधुमेहका बिरामी, ४० वर्षभन्दा बढी उमेर भएका, लामो समयसम्म ‘स्टेरोयडस’को प्रयोग गरेकालाई र आँखामा भौतिक चोट लागेको मानिसलाई जलविन्दुको बढी जोखिम हुने बताउनुभयो ।

जलविन्दु पहिचान भएपछि लेजर प्रविधिबाट उपचार हुने जनाउँदै उहाँले भन्नुभयो, “लेजर प्रविधिले भएन भने औषधि र औषधिले पनि काम गरेन भने शल्यक्रिया गर्नुपर्छ ।” शल्यक्रिया अन्तिम विकल्प रहेको उहाँले जानकारी दिनुभयो । शल्यक्रिया गर्नुपर्ने अवस्थामा जुन आँखामा जलविन्दुको असर कम छ, त्यो आँखाको पहिला शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।

जलविन्दुलाई कतिपयले आँशु आइरहने रोग भनेर भ्रममा पर्दा समयमा उपचार नहुने गरेको जनाइएको छ । डा साहले भन्नुभयो, “आँखाको गेडीभित्र आवश्यकताभन्दा बढी पानी भएमा त्यसले दृष्टि नशामा दबाब (प्रेसर) दिएर जलविन्दु हुन्छ ।”

उहाँले नेपालमा जनचेतनाको अभावका कारण जलविन्दुका कारण कतिपयले दृष्टि गुमाउनुपरेको बताउनुभयो । नेपालमा जलविन्दु विशेषज्ञको सङ्ख्या केवल ३२ जनामात्रै रहेको जनाउँदै उहाँले विशेषज्ञको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका डा सिर्जना पराजुलीले जलविन्दु भइसकेपछि आँखाको प्रेसर, बिरामी उमेर र अरु रोगको अवस्था हेरेर औषधि दिनुपर्ने बताउनुभयो । उहाँले जलविन्दुका बिरामीले आँखामा औषधि राख्दा ध्यान दिनुपर्ने विषयमा सुझाव दिँदै भन्नुभयो, “उत्तानो परेर सुतेर आँखामा औषधि हाल्नुपर्छ । औषधि हालिसकेपछि पाँच मिनेट आँखा चिम्म गरेर सुत्नुपर्छ ।”

आँखामा औषधि हाल्नुअघि सफासँग साबुनपानीले मिचीमिची हात धुन सल्लाह दिँदै उहाँले जलविन्दुको औषधि आँखाभन्दा बाहिर पार्न नहुने बताउनुभयो । उहाँले आँखा बाहिर छालामा परेमा असर गर्ने भन्दै तत्काल सफा कपास (कटन)ले गर्न सुझाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...