अरुणा र प्रदीप वर्ष खेलाडी

पोखर, असार १९ गते । प्रदीप खड्का र अरुणा शाही छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८ मा वर्ष खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणा शाही घोषित भएका हुन् ।

वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले विधान अधिकारी (ब्याडमिन्टन) र बुद्ध लामा (कराँते)लाई पछि पार्दै अवार्ड जिते ।सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तानसमेत रहेकी शाहीले मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते)लाई पछि पार्दै अवार्ड जितेकी हुन् । अवार्ड बिजेता खड्का र शाही दुवै जनाले एक–एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरियो । पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक बिजेता समेत रहेका पोखराको ड्यामसाइड निवासी भट्टराईको नेपालको खेल क्षेत्रको विकासमा ठूलो योगदान रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराललगायतले भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ताम्रपत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए ।

 

यस्तै कार्यक्रममा वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले अवार्ड जितेका छन् । उनले सृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उछिन्दै अवार्ड जितेका हुन् ।

 

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापाले अवार्ड जिते । उनले रिजन प्रजु (क्रिकेट) र रेकमाया गुरुङ (तेक्वान्दो)लाई पछि पार्दै अवार्ड जितेका हुन् । अवार्ड विजेता थापा वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष प्रदीप खड्का र उदीयमान उत्कृष्ट वर्ष खेलाडी दर्शिल श्रेष्ठका गुरु हुन् ।

 

वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश सम्मानित भएको छ । त्यस्तै, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मी दीपक परियारले प्राप्त गरे ।

 

अवार्ड विजेता उत्कृष्ट वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट संघ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई ट्रफीसंगै नगद ३५÷३५ हजार र सम्मान पत्र प्रदान गरियो ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चको गतिविधि र धन्यवाद ज्ञापन उपाध्यक्ष सुरज श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव राजाराम पौडेल र सदस्य लक्ष्मी जिसी ‘पल्पसा’ ले गरेका थिए ।

अवार्ड वितरण समारोहमा गायक विनोद वानिया, हाँस्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य र खेल डेमोस्ट्रेसनलगायतले कार्यक्रमको माहोल तताएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...