महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

स्वास्थ्य कार्यालय तनहुँले जिल्लाका दशवटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरण सुरुआत गरेको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भत्ता उपलब्ध थियो ।

चार नगरपालिका र छ गाउँपालिकाका ४५४ महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता वितरणका लागि रु २७ लाख २४ हजार रकम प्राप्त भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिनेछ ।

“महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कामलाई प्रोत्साहन दिन प्रदेश सरकारमार्फत प्रोत्साहन भत्ता उपलब्ध भएको छ, सबै पालिकामा पुगेर भत्ता वितरण गर्छौं”, उहाँले भन्नुभयो । कार्यालयले शुक्लागण्डकीका ५५ महिला स्वास्थ्य स्वयंसेविकालाई रु छ हजारका दरले रु तीन लाख ३० हजार वितरण गरिसकेको छ ।

कार्यालयका अनुसार बन्दीपुरका २४, देवघाटका ३३, घिरिङका २७, ऋषिङका ४६, आँबुखैरेनीका २७ र म्याग्दे गाउँपालिकाका २६ सहित भानुका ७२, व्यासका ९७ र भिमाद नगरपालिकाका ४७ स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।

उनीहरुले गाउँ–गाउँ, टोल–टोल पुगेर स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने, बालबालिकालाई खोप लगाउने काम गर्दै आएका छन् । शुक्लागण्डकी नगरपालिकास्थित महिला स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्ष लक्ष्मी सिग्देलले काम गरेबापत सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा हौसला बढेको बताउनुभयो ।

‘रनिङशिल्ड’ प्रतियोगिताको उपाधि व्यासलाई

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि व्यास नगरपालिकाले जितेको छ । प्रतियोगिता शनिबार सुरु भई आइतबार सम्पन्न भएको थियो ।
व्यासले २२ स्वर्ण, १७ रजत र १० कास्य पदक जितेको छ । प्रतियोगिताअन्तर्गत व्यासस्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडीले छात्रातर्फ सटपुट, ज्यावलिङ थ्रो, छात्रतर्फ लङ जम्प, छात्रातर्फ ट्रिपल जम्प, छात्रतर्फ २०० मिटर, छात्रातर्फ ४०० मिटरमा विजय हासिल गरेका थिए ।

प्रतियोगितामा म्याग्दे गाउँपालिका पाँच स्वर्ण, छ रजत र ११ कास्य पदक जितेर द्वितीय भएको छ । तेस्रो भएको घिरिङ गाउँपालिकाले एक स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा व्यास, शुक्लागण्डकी, भिमाद, भानु नगरपालिका तथा आँबुखैरेनी, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता थियो ।

प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डीलगायतका खेल सञ्चालन गरिएको थियो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले यही असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...