व्यवसायीलाई अनावश्यक दुःख नदिइयोस् :पोखरा उद्योग वाणिज्य संघ

राजश्व छल्ले ठूला गिरोहमाथि निगरानी :महानिर्देशक

पोखरा,२१ असार । राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको जिकिर गरेका छन् ।१३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।


‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु,बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ’,पोखरा उद्योग वाणिज्य संघले उनको स्वागतमा आयोजना गरेको अन्तरत्र्रिmयामा अधिकारीले भने,‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’ उनले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र,टे«डिङ व्यवसाय,निर्माण र सेवा क्षेत्रमा रहेको पनि बताए । उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पाकत्व वृद्धिमा सघाएको उनको भनाइ थियो ।

 

राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गर्दै उनले भने,‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’ उनले नयाँ व्यवसायीहरुको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाए । राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे ।

 

बिट क्वाइनजस्ता डिजिटल क्षेत्रलाई रोक्ने र नेपालको अर्थतन्त्रलाई वैध डिजिटल बनाउने अभियानमा पनि विभाग अगाडि बढेको उनको भनाइ थियो । उनले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्महरुमाथि विभागले अनुसन्धान थालेको र पोखरा क्षेत्रमा पनि २÷४ दिनमै विभागले  देखिने गरी काम गर्ने उद्घोष गरे ।‘यहाँ सामान पनि बेच्ने र भ्याट बिल पनि बेच्नेहरु छन्,भन्सार छलेर सामान ल्याउने उत्तिकै छन्’,उनले बजारको प्रवृत्ति औंल्याउँदै प्रश्न गरे,‘यहाँ रसुवाबाट हाइड्रो भनेर सामान भित्रन्छ अनि त्यसमा  १ करोड ६३ लाखको महँगा कपडा हुन्छन् । अब भन्सार तिरेर आएको त्यस्तै कपडा व्यवसायी कसरी टिक्छन् ?’

 

महानिर्देशक अधिकारीले सही तरिकाले व्यवसाय गर्नेहरुको संरक्षण र अवैध रुपले हुने राजश्व चुहावट रोक्ने अभियान सजिलो नभएको पनि स्वीकारे । ‘भन्सारमा २ वटा ट्रक समात्यो भने एक हप्तासम्म ट्रक नै भित्र्दैनन्’,उनले भने,‘खुला सिमानाको नजिक गोदाम राख्ने अनि रातमा सामान भित्र्याएर पोकामा पठाउने गिरोह पनि उस्तै सक्रिय छ ।’ व्यापारमा स्वच्छता नभएर भएको समस्या बिस्तारै सल्टिने उनको भनाइ छ । उद्योगी÷व्यवसायीलाई परेका अप्ठेराहरु फुकाउन विभाग सधैँ तयार रहेको बताउँदै उनले गम्भीर प्रकृतिको अपराध नगरेसम्म कसैको गोदाम सिल नगरिने र मानमर्दन पनि नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

 

‘व्यवसाय भनेको विश्वासमा बाँचेको हुन्छ,हामी ( राजश्व विभाग ) आउँदा प्रहरीसहित आउनुपर्छ,सुरक्षाकर्मी आउँदा त्रास सिर्जना हुनु अस्वभाविक हैन,हामी कसैको मान मर्दन गर्न चाहँदैनौँ’,उनले भने,‘व्यवसाय  भनेको युद्ध हो, युद्धमा प्रतिस्पर्धीलाई पछार्न गलत तरिका उपयोग गर्न सकिन्छ, त्यस्तोमा हामी सबै सूचनालाई आधार बनाएर कारबाही अगाडि बढाउँदैनौँ ।’

 

यसअघि महानिर्देशकलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरेका थिए ।विभागले सुराकी दिनेलाई प्रोत्साहित गर्ने नीति गलत भएको बताउँदै उनले भने,‘  यसो गर्दा कोही रिस गर्ने व्यक्ति,आरिसे प्रतिस्पर्धी वा सुराकीबाट कमिसन पाउने लोभ पालेको व्यक्तिले छुस्स चुक्ले लगाउँदाको असर निजी क्षेत्रमाथि पर्न गएको छ । यो व्यवस्थामा पुनरावलोकन होस् ।’

 

पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले अगाडि भने,‘ तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन । उसले सफाइको मौका पाउँछ ।  अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस् ।’उनले न्याय माग्न जाँदा पनि कर्मचारीलाई नै माथि पार्ने गरी निर्णय आएको गुनासो पनि गरे । अन्यायपूर्ण तरिकाले गरिएका कर निर्धारणको पुनरावलोकन पनि सहज नभएको जिकिर गर्दै उनले न्यून विजीकरणको समस्याले पोखरालगायत गण्डकीका व्यवसायी पीडित भएको विषय पनि उप्काए । भन्सारपछि पनि छड्केको नाममा विभिन्न ठाउँमा लोड गरिएको सामान खोतल्ने र रोक्ने प्रवृत्तिमा भने विभागले सुधार गर्न पनि उनको आग्रह थियो । पोखरा सेवा क्षेत्र भएको र यहाँको सेवा क्षेत्रमाथि कर प्रशासनले धरपकड गर्ने गरेको प्रसंग उप्काउँदै उनले भने,‘ घुम्न आएर होटलमा बसेका कर्मचारीले अनौपचारिक कुराकानीमा व्यवसायीको मानमर्दन गरिदिन्छन् । यो राम्रो कुरा हैन ।’उनले ठूलालाई सक्दिन, सानालाई छाड्दिन भन्ने उखान विपरीत जान पनि महानिर्देशकलाई सुझाव दिए ।

 

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेको संचालन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलले गलत मनसायका साथ गरिने अवैध कारोबारको नियन्त्रण र वैध व्यापारीलाई संरक्षण गरिनुपर्ने धारणा राखे । सो अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विक्रम कर्माचार्यले अवैध रुपले नेपाल भित्रने भारतीय बिस्कुटहरुका कारण ठूलो राजश्व गुमेको र नेपाली उद्योगहरु संकटमा परेको बताए । उनले एउटा उत्पादनले सुरुमा जस्तो सामान उत्पादन गरेको हुन्छ, गुणस्तरको लागि त्यसैलाई निरन्तरता दिनुपर्ने र त्यस्ता सामानको आयात रोकिँदा अनौपचारिक बजारबाट कच्चा पदार्थ खरिद गर्नुपर्ने बाध्यता सुनाए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले अवैध रुपले नेपाल भित्रने पस्मिना र उनीका सलहरुका कारण नेपाली उद्योग ध्वस्त भएको बताइन् ।

 

उद्योग परिसंघ गण्डकीका अध्यक्ष विनोद शर्माले एउटा उत्पादनको लागि अर्को उद्योगको तयारी सामान कच्चा पदार्थको रुपमा प्रयोग हुने बताउँदै तेललगायतका सामान महँगिँदा सबै क्षेत्र प्रभावित भएको जिकिर गरे । मुद्रण व्यवसायी संघका अध्यक्ष गिरबहादुर श्रेष्ठले भारतबाट पुस्तक छापेर आउने प्रवृत्ति रोक्नुपर्ने बताए । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष युवराज बस्नेतले अवैध फर्निचरले कर तिर्नेहरु मर्कामा परेको बताए ।

 

तरकारी तथा फलफूल वित्रेता संघका अध्यक्ष लालप्रसाद ढकालले फलफूलको भन्सारमा हुने मूल्याङ्कन र तिर्नुपर्ने रकम फरक हुने प्रवृत्तिमा लगाम लगाउनुपर्ने धारणा राखे ।कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले कपडा आयातमा राखिएको सिलिङ व्यवहारिक नभएको बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य सुदीप प्रधानाङ्गले भारतीय सेनामा काम गर्ने नेपालीहरुले कपडा र अटो पार्टस्हरु बोकेर ल्याउँदा समस्या भएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...