पोखराको दोविल्लाघाटमा वृक्षारोपण

पोखरा । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग लिएर अगाडि बढ्ने बताउनु भयो । वडाध्यक्ष सुवेदीले दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाले पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

पोखरा २१ स्थित सेती नदी किनारमा सय रोपनी क्षेत्रफलमा रहेको सो घाटलाई प्राकृतीक रुपमा मनोरम बनाउनका लागि स्थानियकै सक्रियतामा विगत केहि वर्षयता बृक्षारोपणसंगै त्यसको उचित संरक्षण गरिंदै आएको छ । उक्त घाटको सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय, शव जलाउनका लागि आवश्यक पर्ने दाउराहरु राख्नका लागि सुविधा सम्पन्न भवनहरु पनि निर्माण गरिएको अध्यक्ष रायमाझीले जनाउनुभयो । आगामी दिनमा सो पार्क तथा घाट रहेको क्षेत्रलाई धार्मिक तथा सामाजिक रुपमा विकास गरेर पर्यटकीय स्थलका रुपमा अगाडि बढाइने उहाँको भनाइ छ । मलामी बिश्राम गृह, दाउरा संरक्षण गोदाम तथा शौचालय ललितपुरस्थित ध्रुव थापा स्कृती प्रतिष्ठानका अध्यक्ष तिलकुमारी थापाको सहयोगमा बनेको हो ।

 

कार्यक्रममा वडाकै बासिन्दा भई हाल अमेरिकामा रहनुभएका समाजसेवी गोपाल रायमाझी र श्रीमति शशी रायमाझीले घाटको संरक्षण तथा विकासका लागि नगद १ लाख ८ हजार रुपैयाँ सहयोग गर्नुभयो । त्यसैगरी रायमाझी दम्पतिले स्थानीय अशक्त र दलित नौं महिलाहरु जनालाई जनही नगद ७ हजार सहयोग रकम पनि हस्तान्तरण गर्नुभयो । राजमाझी दम्पतिले स्थानीय रघैचौर आमा समूहलाई नगद २१ हजार, भैरवकोट मन्दिरलाई नगद ११ हजार, केशरमाला मन्दिरलाई नगद ११ हजार तथा रघैचौर भगेँर देउता मन्दिरलाई पनि नगद ११ हजार रुपैँयाँ सहयोग गर्नुभयो ।

 

सो अवसरमा हलेदे, शिवालय, बाझिपोखरी, निर्मल पोखरी, लामाखेत, दुवार, रघैचौर, फेदीपाटन, दोविल्ला, महतगौडा, बिरौटा लगायत क्षेत्रका स्थानीयहरुको सहभागिता रहेको थियो । सेतीनदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरपालिकाको वडा नं २१ मा पर्दछ । महानगरको वडा नं २१, १७ र ३३ तथा स्याङ्जाको उत्तरी भेगका बासिन्दाले परापूर्वकालदेखि नै सो ठाँउलाई घाटको रुपमा उपयोग गर्दै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...