मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताउनुभयो ।

“चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ”, उहाँले भन्नुभयो ।

जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् ।
जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद रिक्त भएको छ ।

अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् ।

थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...