राजनीतिसँगै माछापालन व्यवसाय

राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाउनुभएको छ । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उहाँको धारणा छ ।

इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उहाँले स्पष्ट पार्नुभयो । उहाँ मोरङ निर्वाचन क्षेत्र नं ६ (क) का प्रदेश सभाका निर्वाचित सदस्य हुनुहुन्छ ।

राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहनुभएको छ । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बूढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उहाँले विराट कर्मसियल एग्रिकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गर्नुभएको छ ।

व्यावसायिक रुपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उहाँले पहिलो पटक रु पाँच लाखका र दोस्रो पटक रु २५ लाखका माछाका भुरा बिक्री गर्न सफल हुनुभएको छ । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ । ठूलो मात्रामा भुरा उत्पादन गर्न उहाँले १० बिघा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खन्नुभएको छ । उहाँले यो व्यवसाय अङगालेको आठ वर्ष भयो ।

एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गर्नुभएका तवदारले प्रत्येक भुरा रु दुईका दरले बिक्री गर्नुभएको छ । सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ ।
तवदारले माछाका भुरा उत्पादन गर्न विशेषज्ञका रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीका रुपमा राख्नुभएको छ । उहाँको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु १५ लाख अनुदान पनि सहयोग गरेको छ ।

माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिणतर्फको खाली जग्गा खरिद गर्ने योजना बनाउनुभएका तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गर्नुभएको छ । चारैतिर घेरबार भए पनि बीचमा बाटो भएका कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीयवासी सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

तवदारले माछाका भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुुर पालन पनि सुरु गर्नुभएको छ । पैतालीस थान बाख्रा र २० बङ्गुरसहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएका सदस्य तवदारको फर्ममा आठ जनाले नियमति रोजगार पाएका छन् ।

पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यका तर्फबाट पनि बढावा दिनुपर्ने धारणा राख्दै माछामा मात्र होइन माछाका भुरामा पनि आत्मनिर्भर बन्नुुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...