सिबिसाको जीवन रक्षाका लागि ‘प्रतिभा परिवार’को प्रार्थना

पोखरा, भदौ २१ गते ।पोखराको प्रतिभा माविमा अध्ययनरत ८ कक्षाकी छात्रा सिबिसा खड्का यतिबेला ब्लड क्यान्सरसँग लडिरहेकी छिन् । उनी विगत ५ महिना यता ललितपुरको ब्लड हस्पिटलको बेडमा छिन् ।

१३ वर्षीया सिबिसालाई विद्यालय परिवारले अत्यन्त ‘मिस’ गरिरहेको छ । विद्यालय परिवार सिबिसा शीघ्र स्वास्थ्य लाभ गरी पोखरा फर्किएको हेर्न आतुर छ । तर, सिबिसालाई उपचारका लागि आर्थिक अभाव छ ।

 

प्रतिभा परिवारले सिबिसाको जीवन रक्षाका लागि मंगलबार केही आर्थिक सहयोग हस्तान्तरण ग¥यो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीले स्वेच्छाले एक दिनको खाजा खर्च कटाएर सिबिसाको स्वास्थ्यलाभको कामना गर्दै रकम संकलन गरेको छ । विद्यालयका सबै शिक्षक कर्मचारीले विद्यार्थीको यो अभियानमा सहयोग मात्र गरेनन्, विद्यालयले संस्थागत रुपमा पनि सहयोग थपेको छ ।

 

कक्षा १ देखि १० सम्मका विद्यार्थीले ८५ हजार संकलन गर्दा शिक्षक, कर्मचारीले झण्डै २९ हजार थपिदिए । यस्तै, कक्षा ११ र १२ का विद्यार्थीले ९५ हजार सहयोग उठाउँदा शिक्षक कर्मचारीले ४८ हजार जति थपथाप गरे । विद्यालयले ५१ हजार ५ रुपैंया र विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले व्यक्तिगत ५० हजार थपेर मंगलबार कूल ३ लाख ५३ हजार ९ सय २५ रुपैंया सिबिसाका परिवारलाई हस्तान्तरण गरे ।

 

विद्यालयका विद्यार्थीहरुले अध्यक्ष पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, निर्देशक किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीलगायतको उपस्थितमा सिबिसाकी आमा शिखा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

पहिलो सिबिसाको उपचारखर्च परिवारले नै धान्न सक्ने अवस्थामा सहयोग नमागिएपनि अब उनको जीवन रक्षाका लागि सहयोगी मनहरुको साथको खाँचो रहेको परिवारले जनाएका छन् । पढाईमा अब्बल सिबिसा कक्षा ८ को परीक्षामा डिस्ट्रिक्ट टप गर्ने गरी तयारी गरिरहेकै बेला गत फागुनमा बिरामी भएर थलिएकी हुन् ।

‘पढाईमा अत्यन्त तेज विद्यार्थी हुन् सिबिसा । चैतमा परीक्षा थियो । फागुनको तेस्रो हप्तातिर बिरामी परिन् । रगत जाँच गर्दा क्यान्सर भइसकेको थाहा भयो ।’ आमा शिखाले भनिन्– ‘त्यसपछि काठमाण्डौ लगेर निरन्तर उपचार गराइरहेका छौँ । अब सहयोगी मनहरुको साथले नै नानीको जीवन रक्षा हुने विश्वास छ ।’

सिबिसाले हस्पिटलको बेडबाटै परीक्षामा सहभागी भएर पनि उत्कृष्ट अंक ल्याएको प्रिन्सिपल पराजुलीले बताए । लगनशील, अनुशासित र पढाईमा अब्बल विद्यार्थी आज रोगसँग लडिरहँदा थोरै भएपनि सहयोग होस् भन्ने हेतुले यो सहयोग गरिएको निर्देशक सापकोटा बताउँछन् । सकेसम्म बाहिर सहयोग नलिने परिवारको चाहना रहेपनि विश्वमै महंगो रोगको उपचारको लागि अब सहयोगको आवश्यकता रहेकाले जीवन रक्षाका लागि अपिल गर्नुपरेको विद्यालयले जनाएको छ ।

बागलुङ ३ गुठी घर भई हाल पोखरा सिमलचौर बस्दै आएका सिबिसा परिवारमा बुवा, आमा र एक दिदी छन् । सिबिसाले आफू स्वस्थ भएपछि आफू पीडामा रहेको रोगकै विषयमा हेमाडोलोजी पढ्ने चाहना राखेकी छन् ।

सिबिसालाई सहयोगको लागि निम्न खातामा रकम संकलन गरेर सहयोग गर्न सकिनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...