टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ, ४ असोज : गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ ।

स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्र केही समययता महत्वपूर्ण दृश्य भेटिँदा चिन्तित बनिरहनुभएको छ । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाउनुभएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ पश्चात् पछिल्लो समय झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ ।

भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजा बताउनुहुन्छ । “स–सानो क्लिप आउँदा प्रचारप्रसार नै भएको हो । तर खण्डखण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ । हामीले यस विषयमा नसोच्ने हो भने भोलि यो क्रम झनै बढ्ने छ”, उहाँले भन्नुभयो । युट्युबमा पनि पछिल्लो केही समययता पाइरेसी भए पनि त्यहाँ रिपोर्ट (उजुर) गरेको केही समयमै हट्ने गरेको उहाँले बताउनुभयो ।

“हामीले आफैँले वा प्रहरीको साइबर ब्युरोमार्फत रिपोर्ट गरेपछि चलचित्रको दृश्य हट्ने गरेको छ । तर यसमा केही समय भने लाग्छ । दुई र तीन दिन लाग्दा त्यो क्लिप निकै भाइरल भइसकेको हुन्छ । त्यसैले यसमा सतर्कता बढाउनु आवश्यक छ”, निर्देशक देउजाले भन्नुभयो ।

पछिल्लो समय छिटपुटरुपमा चलचित्रको क्लिप टिकटकबाट हटाउनुपर्ने गुनासो आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्रवक्ता पशुपतिकुमार रायले बताउनुभयो । ‘‘हामीलाई प्राप्तअनुसार हामीले चलचित्रको दृश्य हटाउने गरेका छौँ । यो सामाजिक सञ्जालमार्फत भए तापनि कपि राइट्स्अन्तर्गत बढी पर्छ । यद्यपि हामीलाई प्राप्त गुनासोका आधारमा तुरुन्तै कारवाही गर्ने गरेका छौँ”, प्रवक्ता रायले भन्नुभयो । यो समस्यालाई हटाउन प्रहरीसहितको सहयोगमा हल सञ्चालकले सचेतना बढाउनुपर्ने निर्देशक देउजाको भनाइ छ ।

उहाँले यो समस्याका बारेमा नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घमा पनि कुरा गरिसक्नु भएको छ । पाइरेसी गरिरहेको भए तापनि टिकटकमै देखेर चलचित्र हेर्न आएका हौँ भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । “हामीले चलचित्र चल्नु अगाडि सचेतना सन्देश दिनुपर्छ । चलचित्र हेर्दै गर्दा कसैले दृश्य कैद गरिरहनुभएको छ भने उहाँलाई सम्झाउने वा जरिवाना गर्ने हुनुपर्छ”, निर्देशक देउजाले भन्नुभयो । सचेतनामार्फत पनि अटेरी गर्नेलाई कानुनी कारवाही गर्नु पर्ने उहाँको भनाइ छ ।

उहाँ पछिल्लो समय फिचर्समा अपडेट भएर लामो भिडियो हाल्न पाइने भएपछि भने केही समस्या बढेको स्वीकार्नु हुन्छ । “प्रचारप्रसार पनि गरिरहेको छ भने केही असर पनि गरेको छ । हामीले हलमा आउनु हुने दर्शकलाई भिडियो नखिच्न आग्रह पनि गरिरहेका छौँ । हाम्रो कर्मचारी बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नुहुन्छ ।” महासचिव महर्जनका अनुसार टिकटकलाई नै पत्राचार गरेर केही गर्न सकिन्छ कि भन्ने सल्लाह सङ्घले गरिरहेको छ ।

गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडियो क्लिप बनाउनेक्रम बढेको हो । भारतीय चलचित्र आरआरआर र केजीएफ स् च्याप्टर २ को टिकटकमा भेटिएको दृश्यहरु जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ । विदेशी मात्र होइन, स्वदेशी चलचित्र ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो । पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यस किसिमको समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाउनुकै कारणले लोकप्रियतासँगै समस्या सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...