चन्द्रागिरिले सहुलियतपूर्ण कर्जा दिने

चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।

नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपक्षीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज अनुदान प्रदान गर्नेछ । यसैगरी मत्स्यपालन, उत्पादित माछाको भण्डारण र बिक्री वितरण तथा पशुबधशाला एवं मासुजन्य उत्पादन गरिरहेका किसानले पनि यस्तो ब्याज अनुदान पाउने छन् ।

जडीबुटी उत्पादन प्रशोधन र भण्डारण, अलैँची र अदुवा खेती गर्ने किसानले पनि सहुलियत कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार दिइने अन्य व्यवसाय घरेलु उद्योग र साना तथा मझौला उद्यम सञ्चालकले पनि यस प्रकारको ब्याज अनुदान पाउने छन् । प्रमुख गिरीका अनुसार किसानले बैंकमार्फत सहुलियत कर्जा पाउनेछन् ।

नगरपालिकाले किसानले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरणमा समेत मद्दत गर्नेछ । त्यसका लागि नगरका सबै वडामा सार्वजनिक स्थान पहिचान गरी हाटबजार लगाइने गिरीले जानकारी दिनुभयो । नगरका सुरक्षाका लागि सिसिटिभी जडान गर्नेबारे समेत छलफल भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...