आपराधिक घटना नियन्त्रण गर्न विशेष सुरक्षा योजना

चाडपर्वका बेलामा हुनसक्ने आपराधिक घटना न्यूनीकरणका लागि जिल्लामा सुरक्षा निकायबाट विशेष योजना बनाइएको छ । जिल्लामा चाडपर्वको समयमा कुनै पनि घटना हुन नदिन जिल्ला तहका सबै सुरक्षा निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । उहाँले, “निर्वाचनसमेत नजिकिँदै गएको साथै दसँै–तिहारलगायतका चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाएका छाँै ।”

चाडपर्वका बेलामा कुनै पनि घटना जिल्लाभित्र हुन नदिन विशेष सुरक्षा योजना अपनाइने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “चाडपर्वका समयमा आपराधिक घटना हुनसक्ने भएकाले त्यसलाई निरुत्साहित गर्न जिल्ला प्रहरी कार्यालयले मातहतका सबै प्रहरी युनिटलाई परिचालन गरेको छ ।” नागरिक सुरक्षा प्रहरीको पहिलो कर्तव्य भएकाले प्रहरीले आफ्नो युनिटलाई सोहीअनुसार परिचालन गर्ने प्रहरी प्रमुख क्षेत्रीको भनाइ छ ।

जिल्लामा जिल्ला प्रहरी कार्यालयसहित ३७ प्रहरी युनिट छन् । यसमा सात इलाका प्रहरी कार्यालय, १८ प्रहरी चौकी, तीन अस्थायी प्रहरी चौकी, तीन अस्थायी प्रहरी चौकी छन् । चाडपर्वका बेलामा बढी घटना घट्ने भएकाले प्रहरीलाई पनि सजग गराइएको छ ।

प्रहरीले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सबै सरकोरवाला निकायसँग छलफलसमेत गरिएको जनाएको छ । चाडपर्वका समयमा केही समस्या परेमा जिल्ला प प्रहरीसँग समन्वय गर्न पनि आग्रह गरेको छ ।

जिल्लाको सुरक्षा स्थिति मजबुत बनाउन सशस्त्र प्रहरी बलसमेत परिचालन हुने छ । सशस्त्र प्रहरी बल नं ५ गुल्म टक्सारले पनि जिल्ला तहको शान्ति सुरक्षाका लागि प्रहरीसँग समन्वय गरी काम गर्ने सशस्त्र प्रहरी बल नं ५ गुल्म टक्सारका प्रमुख दिनेश श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...