वैकल्पिक खेल मैदानको काम सम्पन्न

सुर्खेतको वीरेन्द्रनगरस्थित कालिञ्चोकमा रहेको वैकल्पिक खेल मैदानको काम सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको प्रदेश रङ्गशाला निर्माणाधीन अवस्थामा रहेका कारण कर्णालीका विभिन्न विधाका खेलाडीलाई खेल मैदानको अभावका हुँदै आएको थियो ।

गौरवको आयोजना प्रदेश रङ्गशाला निर्माण भइरहेका बेला कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले वैकल्पिक खेल मैदानका रुपमा वीरेन्द्रनगर कालिञ्चोकको मैदानलाई प्रयोग गरी बहुउद्देश्यीय वैकल्पिक खेल मैदानका रुपमा निर्माण गरेको हो ।

कालिञ्चोकमा सम्पन्न भएको वैकल्पिक खेल मैदानमा क्रिकेट, फुटबल, रग्बी, हक्की र एथलेटिक्सलगायतका खेल खेल्न सकिने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रदेश राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा अबका दिनमा खेल मैदानको अभाव नहुने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताउनुभयो ।

सदस्य सचिव सञ्ज्यालका अनुसार योभन्दा अगाडि टिम गेम र अन्य गेम अहिलेको निर्माणाधीन गौरवको आयोजना प्रदेश रङ्गशालाभित्र हुने गर्थे । पछिल्लो समयमा गौरवको आयोजना निर्माणाधीन अवस्थामा रहेका कारण केही समय खेलाडीले मैदानको अभाव झेल्नु परे पनि अबका दिनमा भने खेलाडीले मैदानको अभाव झेल्नुपर्ने छैन ।

वैकल्पिक बहुउद्देश्यीय खेल मैदानको कूल लागत भने रु २७ लाख रहेको छ । उक्त खेल मैदानमा कर्णालीमै पहिलो पटक निर्माण गरिएको सुविधा सम्पन्न मोबाइल ट्वाइलेटकोसमेत व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका विभिन्न इभेन्टका खेलाडीको बन्द प्रशिक्षण यही २१ गतेदेखि यही बहुउद्देश्यीय वैकल्पिक खेल मैदान हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...