कात्तिक १ बाट चालू पूँजी कर्जा प्रवाहमा समेत बीमा अनिवार्य गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले कात्तिक १ गतेबाट लागू हुने गरी जारी गरेको चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनमा चालू पूँजी कर्जा प्रवाहमा समेत बीमा अनिवार्य गर्नुपर्ने प्रावधान गरेको छ ।

व्यापारिक संस्था तथा उद्योगहरूलाई अल्पकालीन तरलता समाधानको लागी कारोबार रकम, गोदाममा रहेको मौज्दात, बजारबाट उठाउनुपर्ने उधारो रकम लगायतको आधारमा उपलब्ध गराइने चालू पूँजी कर्जामा यसअघि बीमा सम्बन्धमा अनिवार्य व्यवस्था थिएन ।

चालू पूँजी कर्जा मार्गदर्शन २०७९ को दफा ६ को उपदफा ८ मा बै‌क तथा वित्तीय संस्थाले चालू पुँजी कर्जा स्वीकृत गर्दा धितोमा रहने मालसामानमा हुनसक्ने जोखिमको विश्लेषणको आधारमा अनिवार्य बीमा गर्ने व्यवस्था मिलाएको हुनुपर्ने प्रावधान छ ।

साथै बीमालेखको म्याद सकिनुभन्दा कम्तिमा १५ दिनअघि नै बैंक तथा वित्तीय संस्थाले सम्बन्धित ऋणीलाई बीमालेख नवीकरण गर्न जानकारी गराउनुपर्ने र बीमालेखको म्याद सकिन १ दिन बाँकी हुँदासम्म पनि ऋणीले बीमा पोलीसी नवीकरण नगरेमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको पूर्व स्वीकृति लिई कर्जा खाताबाट खर्च गरी अनिवार्य बीमा नवीकरण गरेको हुनुपर्नेछ ।

बीमा गर्नु नपर्ने वा बीमा गर्दा कुनै जोखिम समावेश गर्नुनपर्ने कुनै कारण भएमा कर्जा स्वीकृत गर्दा अनिवार्य रुपमा उल्लेख गरेको हुनुपर्ने प्रावधान समेटिएको छ । यसबाहेक दफा ५ को उपदफा ४ मा बीमा गरिएको चालू सम्पत्तिको पहिलो दाबी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको हुनु पर्नेछ ।

बीमा दाबी भुक्तानीबाट प्राप्त रकम कर्जा नियमित भएको अवस्थामा मात्र बैंक तथा वित्तीय संस्थाले ऋणीलाई रकमान्तर गर्न सक्ने प्रावधान रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...