गोरखाबाट उम्मेदवार बन्ने चर्चा चलेपछि प्रचण्डलाई चितवनबाटै चुनाव लड्न गठबन्धनको दबाव

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमै चुनाव लड्न सत्ता गठबन्धनले आग्रह गरेको छ। चितवनको पाँच दलीय सत्ता गठबन्धनले प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ मै उम्मेदवार बन्न आग्रह गरेको हो।

असोज १८ गते बसेको गठबन्धनको बैठकले चितवन छोडेर अरु ठाउँमा प्रचण्डलाई उम्मेदवार नबन्न अनुरोध गरेको हो।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएको प्रति गम्भीर ध्यानर्षण भएको छ,’ गठबन्धनको निर्णयमा भनिएको छ। प्रचण्डलाई अभिभावकीय भूमिका निभाउन पनि आग्रह गरिएको छ। चुनावका बेला निर्वाचन क्षेत्र परिवर्तन गर्दा राम्रो नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने चर्चा छ। २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले उक्त क्षेत्रबाट चुनाव जितेका थिए। भट्टराईले सोमवार चुनाव नलड्ने घोषणा गरिसकेका छन्।

प्रचण्डले चितवनमा केही दिनअघि मात्रै घरको उद्घाटन गरेर आफू चितवनकै बासिन्दा भएको सन्देश दिएका थिए। उनले आफू अब चितवनबाट अन्त गएर चुनाव नलडने पनि सार्वजनिक रुपमा बताउँदै आएका छन्।

यसअघि स्थानीय तह निर्वाचनमा प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई उम्मेदवार बनाइएपछि सत्ता गठबन्धनमा असन्तुष्टि पैदा भएको थियो। नेपाली कांग्रेसभित्र विवाद भएपछि बागी उम्मेदवारसमेत दाहालका बिरुद्ध उठाइएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...