गठबन्धनले साथ दिँदा पनि रूपन्देही १ मा भुसाललाई चुनाव जित्न कठिन

नेकपा एमाले त्यागेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई चुनाव जित्न कठिन देखिएको छ।

स्थानीय तह चुनावमा वडाध्यक्षका उम्मेदवाहरूले प्राप्त गरेको मतको अंक गणित अनुसार भुसाललाई सत्ता गठबन्धनले साथ दिए पनि चुनाव जित्न कठिन देखिएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई सत्ता गठबन्धनको साथ हुने प्रतिवद्धता व्यक्त गरेका थिए। आईतबार मध्यरातमा फोन गरेर भुसाललाई समर्थन जनाउने प्रतिवद्धता जनाएका थिए। रूपन्देही १ माओवादी केन्द्रको भागमा परे पनि त्यहाँ उम्मेदवारी परेन।

यता, त्यस क्षेत्रमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ। १४ हजार बढी मत रहेको राप्रपाले त्यहाँ एमालेका छबिलाल विश्वकर्मालाई सघाउनेछ।

स्थानीय तहमा वडाध्यक्षले प्राप्त गरेको परिणाम अनुसार रूपन्देही १ मा सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको मत ३८ हजार ३ सय १ छ।

एमालेसँग गठबन्धनमा रहेका दलहरूको कुल मत ५१ हजार ६ सय ४५ हुन्छ।

रूपन्देही १ मा एमालेको गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार ३ सय ४४ मतले अघि छ। कांग्रेसका वडाध्यक्षको मत ३२ हजार १९६ छ भने माओवादी केन्द्रको ४ हजार ३ सय २ मत रहेको छ।

यस्तै एकीकृत समाजवादीका वडाध्यक्षले पाएको मत १४ सय ४७ छ। लोकतान्त्रिक समाजवादी पार्टीको वडाध्यक्ष उम्मेदवारले ३ सय २५ मत पाउँदा राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले १ सय ३१ मत पाएका छन्।

रूपन्देही १ का स्थानीय तहमा एमालेबाट वडाध्यक्षका उम्मेदवाहरूले ३० हजार ३ सय ९४ मत प्राप्त गरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवाले १४ हजार ५ सय ५६ मत ल्याएका छन्।

यस्तै केही समय अगाडि मात्र सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेको जनता समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवाहरूले ६ हजार ६९५ मत प्राप्त गरेका छन्।

रूपन्देही १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा ७,८, ९, १०, ११,१२,१५,१६ र १७ पर्छन्। यस्तै ओमसतीया गाउँपालिकाका वडा १,३,४,५ र ६ पनि क्षेत्र नम्बर १ मै पर्छन्।

भुसाल यसअघि रूपन्देही क्षेत्र नम्बर ३ बाट ३२ हजार ८ सय ६६ मत ल्याएर निर्वाचित भएका थिए। उनले राप्रपाका दीपक बोहोरालाई ५ हजार ५ सय ४४ मतले हराएका थिए।

भुसाल यसपालि आफ्नो पुरानो क्षेत्र छोडेर क्षेत्र नम्बर १ मा आएका हुन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...