कस्तो होला तिहारमा सुनको कारोबार ?

काठमाडौं : तिहार सुनचाँदीको धेरै बिक्री हुने चाड। सुनको कारोबार दैनिक ४० देखि ४५ केजीसम्म र चाँदी २ हजार केजीसम्म बिक्री हुने बेला हो तिहार। यसपटक तिहार आउन एक साता बाँकी छ। सुनचाँदी आयातमा कोटा घटाएर सरकारले गरेको कडाइले व्यवसायी छटपटीमा छन्।

यसको कारण तिहारको कारोबारका लागि सुनचाँदी अपुग हुने आकलनले होइन। कारोबारमा आएको मन्दीले हो। अघिल्लो वर्ष सुनचाँदी व्यवसायीलाई सुनका गरगहनाको अर्डर लिन र बनाउन भ्याइनभ्याइ हुन्थ्यो।

तिहारको चाप धान्न व्यवसायीहरुले केही साता अघिबाटै तयारी गर्ने गरेका थिए। दसैंपछि बजारमा सुनचाँदीको कारोबार बढ्न नसक्दा माग कम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

पछिल्लो समय सुनचाँदीको आयात कम छ। सुनको आयात कोटा दैनिक १० केजी तोकिएको छ। कोटामा पनि बैंकहरुले नियमित रुपमा सुन आयात गरेका छैनन्। चाँदीको आयात पनि उल्लेख्य परिमाणमा भइरहेको छैन। सरकारले मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारेका वस्तु आयातमा कडाइ गर्दा सुनचाँदीको पनि कोटा घटाइयो।

आयातमा कडाइले बजारमा सुनचाँदी पर्याप्त नभएको व्यवसायीहरुले जनाएका छन्। तिहारमा माग अनुसार सुनको आपूर्ति नहुने संकेत देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए।

‘दसैंपछि एक सय केजी सुन आयात भएको छ। त्यो पनि सुन उपत्यका र बाहिरको जिल्लालाई वितरण भइसकेको छ,’ उनले भने, ‘कारोबार बढ्ने अवस्था आयो भने पनि व्यापारीसँग सुनचाँदी पर्याप्त छैन।’

उनका अनुसार यतिबेला ४० केजी जति सुन मौज्दात छ। व्यवसायीहरुसँग रहेको स्टकले बजार माग नधान्ने उनको अनुमान छ।

‘सुनको आयात नियमित नहुँदा पोहोरदेखि व्यवसायीहरुले ठूलो परिमाणमा सुन खरिद गर्न पाएका छैनन्,’ उनले भने।

यतिबेला सुनको दैनिक कोटा अझै बढ्ने संकेत छैन। बैंकमा पनि पर्याप्त स्टक नहुँदा यस पटक तिहारमा सुनको आपूर्ति कम हुने महासंघले जनाएको छ।

‘दैनिक १० केजी सुन आयातले देशभरको माग धान्न मुस्किल छ,’ महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भने, ‘कच्चा सुन पर्याप्त खरिद गर्न नपाउदा ग्राहकको अर्डर लिन समेत नसकेको अवस्था छ।’

कोटा तोकिनु, कोटाअनुसार पनि नियमित आयात नहुनुको प्रभाव बजारमा परेको उनले बताए।

‘सुनको मूल्य घट्ने क्रममा छ। दसैंमा पनि सुन पर्याप्त भएन। तिहारको लगि थप सुनको आवश्यक पर्छ,’ उनले भने। तिहारमा कारोबार बढ्ने भएकाले सरकारले कोटा बढाउनुपर्ने उनको माग छ।

तिहारमा चाँदीका गरगहना, भाँडाकुँडा उल्लेख्य परिमाणमा बिक्री हुने गरेको छ। यसपटक सुनजस्तै चाँदी पनि पर्याप्त छैन। ‘आयात घट्यो, स्टक पनि धेरै छैन,’ व्यवसायी सुसन शाक्यले भने। सरकारले चाँदी आयातमा कोटा घटाएपछि बजारमा आपूर्ति कम भएको उनले बताए।

व्यवसायीबाट सुनको माग आएको छैन : नेपाल बैंकर्स संघ

नेपाल बैंकर्स संघले बजारमा सुनको अभाव नभएको दाबी गरेको छ। व्यवसायीहरुबाट सुनको माग धेरै नभएको संघका अध्यक्ष अनिल शर्माले बताए।

‘अघिल्लो वर्ष जस्तो सुनको माग छैन। बैंकहरुले आयात गरेको केही स्टक अझै बाँकी छ,’ उनले भने, ‘यसले गर्दा यतिबेला सुन आयातका लागि बैंकहरुले एलसीका लागि स्वीकृत नमागेक हुन्।’

चालु वर्ष घट्यो आयात

चालु आर्थिक वर्षमा सुनको आयात ५० प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार भदौसम्म ५ सय ११ केजी सुन आयात भएको छ।

गत वर्ष १२ सय १५ केजी सुन आयात भएको थियो। अघिल्लो वर्ष दैनिक २० केजी सुनको कोटा थियो। सो समयमा बजारमा सुनको आयात धेरै थियो ।गत चैत्रबाट सरकारले सुनको कोटा १० केजी कम गरेपछि आयात कम भएको हो। भने तरलता अभावका कारण सुनको माग घट्दै जाँदा बैंकहरुले आयात कम गर्दै गएका पाइएको छ।

साथै, चालु आर्थिक वर्षमा चाँदी १४ सय १५ केजी भएको छ । गत वर्ष सोही अवधिमा ६९ केजी चाँदी आयात भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...