स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा

कृष्णपुर नगरपालिका–५ गुलरीयास्थीत स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको निःशुल्क सेवा सञ्चालन गरिएको छ ।
सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि नगरपालिकाले चिकित्सकसहितको सेवा सञ्चालन गरेको हो ।

सेवा सञ्चालन भएपछि उपचारका लागि सर्वसाधारणले टाढाको धनगढी र महेन्द्रनगर पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ । चौविसै घण्टा आकस्मीकसहित स्वास्थ्य सेवा सञ्चालन गर्ने कृष्णपुर स्वास्थ्य चौकी देशकै पहिलो स्वास्थ्य चौकी भएको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।

“स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीलाई औषधि, प्रयोगशालालगायत सबै सेवा निःशुल्क गरेका छौँ” उहाँले भन्नुभयो, “जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामीबाहेक अन्य बिरामीको स्वास्थ्य चौकीमै उपचारको व्यवस्था गरिएको छ ।” स्वास्थ्य चौकीमा आवश्यक उपकरण र औजारको व्यवस्था गर्न आवश्यक प्रकृया पूरा गरिएको नगरप्रमुख ओझाले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रभित्रका सुत्केरी हुने महिलाका लागि बर्थिङ सेन्टरसम्म ल्याउन र पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि निःशुल्क गरिएको छ ।

“सुत्केरी हुने महिलासँगै स्वास्थ्य चौकीमा उपचारका लागि भर्ना भई उपचार हुन नसकेका बिरामीलाई कैलाली र कञ्चनपुरका अस्पतालमा रिफर गर्दा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाएका छौँ उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका बासिन्दा बिरामी भइ रगतको आवश्यकता परेमा बाँके र कैलाली रेडक्रससँग समन्वय गरी निःशुल्क रगतको व्यवस्था मिलाइएको छ ।”

नगरपालिका क्षेत्रमा रक्तअल्पताबाट ३० देखि ३५ प्रतिशत बासिन्दा पीडित रहेको नगरप्रमुख ओझाको भनाइ थियो । “रक्तअल्पता प्राय सिकलसेल एनिमिया भएका बिरामीमा बढी देखिने गरेको छ, त्यस्ता बिरामीलाई चारदेखि पाँच प्वाइन्टसम्म रगत आवश्यक पर्दछ” उहाँले भन्नुभयो, “विगतमा प्रतिप्वाइन्ट रगतका लागि रु एक हजार १५० शुल्क तिर्नुपर्ने अवस्था थियो, रेडक्रससँग सम्झौता गरी निःशुल्क रगत उपलव्ध गराउने व्यवस्था गरिएको छ ।”

स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा सञ्चालन भएपछि बिरामीको चाप बढदोरुपमा रहेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रतन बिष्टले बताउनुभयो । दैनिक ७० देखि १५० बढीको सङख्यामा बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।

नगरपालिका क्षेत्रमा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । दश वटा स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र पहिले देखिनै सञ्चालन हुँदै आएका थिए । हाल स्वास्थ्य केन्द्रमा दुई करार जनशक्तिको व्यवस्था गरिएकोे छ ।

नगरपालिकाका सबै बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको नगरप्रमुख ओझाले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमै निःशुल्क आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउनका लागि प्रकृृया अगाडि बढाइएको छ ।

“दक्ष आँखासम्बन्धी उपचार गर्ने चिकित्सकको व्यवस्था गरी सकेका छौँ” उहाँले भन्नुभयो, “आँखा जाँचका लागि आवश्यक पर्ने उपकरण गैरसरकारी संस्थासँग समन्वय गरी व्यवस्था गर्न लागेका छौँ, सेवा सञ्चालन भएपछि आँखा उपचारका लागि कैलालीको धनगढी, गेटासम्म पुग्नुपर्ने अबस्था अन्त्य हुन्छ ।”

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...