मकवानपुरबाट निर्यातमा कमी

मकवानपुर जिल्लाबाट वार्षिकरुपमा हुँदै आएको निर्यात व्यापारमा कमी आएको छ । उद्योग वाणिज्य सङ्घ मकवानपुरको तथ्याङ्कअनुसार गत अर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा सञ्चालनमा रहेका निर्यातमुलक उद्योग तथा व्यावसायिक प्रतिष्ठानले रु १७ करोड ३० लाख मूल्यबराबरको निर्यात गरेका छन् । त्यसअघि आर्थिक वर्ष २०७७÷७८ मा मकवानपुरवाट रु २३ करोड ६२ लाख मूल्य बराबरको निर्यात भएको थियो भने आर्थिक वर्ष २०७६ ÷७७ मा रु २५ करोड ५६ लाख मूल्य बराबरको निर्यात भएको थियो ।

उक्त वर्षमा क्लोजर सिस्टम इन्टरनेशनल नेपाल, युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एण्ड एफआई विसी र इभान्स लाइफ साइन्सेस लगायतले आफनो उत्पादन छिमेकी मुलुक भारतमा निर्यात गरेका थिए ।
आर्थिक वर्ष २०७७÷७८ मा युनिलिभर नेपाल लिमिटेड बाहेकका उद्योगबाट उत्पादन भारत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्यपदार्थसहित औद्यौगिक उत्पादन निर्यात गरेको सङ्घले जनाएको छ ।

गत आर्थिक वर्षमा प्याक्ट ग्रुप, क्लोजर स्टिम इन्टरनेशनलले बोतलमा लाग्ने बिर्काे, गोदावरी पोलिप्याक्स एण्ड एफ आई विसीले त्रिपाल तथ इभान्सलाइफ साइन्सेसले सल्लाको लोठ पाउडर भारत निकासी गरेको थियो । त्यस्तै गुराँस ग्रुप इन्टरनेशनलले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली उत्पादन अष्ट्रेलियामा र एड्भान्स टेक्नोलजी एण्ड मेसिन नेपालले फोहर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको बताइएको छ ।

एक दशकअघि आर्थिक वर्ष २०६८÷६९ मा मकवानपुरबाट रु ६९ करोड ८२ लाख मूल्य बराबरको निर्यात भएको थियो । त्यस समयमा २९ वटा उद्योगबाट आर्थिक वर्ष २०६८ ÷६९मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ भएको थियो । क्रसरजन्य उद्योगको भारत निर्यातले पनि त्यस समयामा निर्यात व्यपार बढेको देखिन्छ । क्रसरका साथै एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इञ्जिनीयरिग कम्पनी, मछापुच्छे र हर्बल लगायतका अन्य उद्योगले निर्यात गर्दे आएको थियो ।

कोलगेट, कोडाक र युनिलिभर लगायतका राष्ट्रिय तथा बहुर्राष्ट्रिय उद्योगका उत्पादन निर्यात गर्दै आएको मकवानपुबाट दुई दशकअघि आर्थिक वर्ष २०५७ ÷५८ मा रु दुई अर्ब २९ करोड मूल्यबराबरको निर्यात भएको सङ्घद्वारा उपल्वध तथ्याकङ्कमा जनाइएको छ । कोडाक र कोलगेट नेपाल छोडेर गइसकेको छ भने युनिलिभरले भारतमा निर्यात बन्द गरिसकेको बताइएको छ ।

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले सरकारले निर्यातजन्य उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नमा ध्यान नदिएकोले त्यस्ता उद्योग सङ्कटमा परेको गुनासो गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...